बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बुढानीलकण्ठमा कांग्रेस, माओवादी र जसपाको बैठक

२७ चैत्र, २०७७ १६:५९ मा प्रकाशित

1044 पटक पढिएको

prachanda deuba and thakur

काठमाडौं – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच वैकल्पिक सरकार गठनबारे शुक्रबार निर्णायक छलफल हुँदैछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा दुवै दलका शीर्ष नेताहरूलाई छलफलका लागि आमन्‍त्रण गरेका छन्। छलफलमा कांग्रेस सभापति देउवासहित अन्य वरिष्ठ नेताहरू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरु सहभागी हुँदैछन्। छलफलका लागि अपरान्ह चार बजे नेताहरू बुढानीलकण्ठमा पुगिसकेका छन्।

सानेपा बैठकको मुख्य एजेन्डा नै ओली विकल्प र नयाँ सरकारको गठन रहेको छ। तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शून्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारीलगायतका विषयमा विस्तृत छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले भने, ‘हामीले प्रधानमन्‍त्रीको राजीनामा माग्‍ने र नयाँ सरकारका गठनका लागि पहल गर्ने निर्णय गर्‍यौं। अब त्यसमा उहाँहरूको धारणा के छ, कसरी अघि बढ्ने भन्‍ने छलफल गर्न बैठक आयोजना गरिएको हो।’

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको झन्डै डेढ महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ।

आन्तरिक दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन विश्‍वसनीय वातावरण अझै नबनेको भन्दै देउवा मौन बस्दै आएका छन्। जसपाले सहकार्यका लागि संस्थागत निर्णय नगर्दासम्म मुभ गर्न नहुने मुडमा देउवा छन्। छोटो समयका लागि सरकारमा गएर अल्झिनुभन्दा चुनावमा जानु पर्नेमा देउवाले जोड दिदै आएका छन्। अहिले सरकार र विपक्षी दुवैतिरबाट जसपालाई फकाउने काम भइरहेको छ।

संसदको नयाँ अंकगणितमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टी(जसपा)ले अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन। दुवै पक्षले जसपालाई आफूतिर तान्‍ने कोसिस गरिरहेका छन् र फकाउने प्रयास भइरहेको छ। कांग्रेससँगको सम्वाद झारा टार्ने खालको छ तर बालुवाटारसँग छलफल भने अलि हार्दिक र गहिरो हुँदै गएको छ।

सत्ता साझेदारीका लागि बालुवाटारसँग नजिकिएको जसपा पनि कांग्रेसको निर्णयपछि फेरि थप आन्तरिक परामर्शमा जुटेको छ। कांग्रेसको झारा टार्ने निर्णय र एमालेभित्रको चरम अन्तरकहललाई विश्लेषण गर्दै जसपा पनि पर्ख र हेरको रणनीतिमा देखिन्छ। तर उसको सहयोग बिना न ओली सुरक्षित हुनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। उ कतै नलागेर तटस्थ बसिदियो भने स्वभाविक रुपमा फेरि चुनावमै मुलुक फर्किनुपर्ने अवस्था आउने देखिन्छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६(२ निलम्वित), माओवादी केन्द्रका ४८ (सभामुख मतदान गर्न नमिल्ने र चारजना रिक्त) र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन्। ओलीलाई सुरक्षित हुन सिंगो जसपा पनि आवश्यक पर्दैन। १७ मत मात्रै भए ओली सुरक्षित हुन्छन्। त्यसैले सकेसम्म सिंगै जसपासँग सहकार्य गर्ने र त्यो संभव नभए फुटाएर भए पनि आवश्यक संख्य जुटाउने रणनीतिमा बालुवाटार छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome