आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

विराट गोल्डकपमा विराटनगरको विजयी सुरुआत

२७ चैत्र, २०७७ १७:०३ मा प्रकाशित

348 पटक पढिएको

birat gold cup

विराटनगर – विराटनगर महानगरपालिका–११ ले ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । प्रतियोगिताको छैठौं संस्करण अन्तर्गत बिहीबार राति सम्पन्न उद्घाटन खेलमा विदेशी पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले निराश बनाउँदै विराटनगर दोस्रो चरणमा प्रवेश गरेको हो । विराटनगरको जितमा प्रकाश बुढाथोकी नायक बने । घरेलु मैदानमा पाहुना टोलीलाई पाखा लगाउने क्रममा विराटनगरका लागि दुवै गोल बुढाथोकीबाटै सम्भव भएको हो ।

संघर्षपूर्ण खेलको ८ औँ मिनेटमा गोलको खाता खोलेर सिक्किमलाई सुरुआती दबाबमा राखेको विराटनगरले टिमको जित निश्चित गर्न भने ५३ औँ मिनेटसम्म पर्खनु पर्‍यो । ३० यार्ड टाढाबाट बुढाथोकीले गरेको पहिलो प्रहारले पोस्ट्को दिशा लिएपछि सिक्किम दबाबमा परेको थियो । तर विराटनगरका लागि अग्रताको त्यो खुशी लामो समयसम्म टिक्न सकेन ।

१५ औँ मिनेटमा आशिष देवानको सहयोगमा साङ्गे छोपेन भुटियाले खेललाई बराबरीमा फर्कादिए । देवानको क्रस पासलाई भुटियाले सानदार रुपमा सदुपयोग गर्न सक्दा खेलमा फर्किएको सिक्किम पहिलो हाफसम्म दबाबमुक्त बन्यो । पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

मध्यान्तरपछि निक्कै आक्रामक बनेको विराटनगरका तर्फबाट ५३ औँ मिनेटमा प्रकाश बुढाथोकीले डी–बक्सभित्रबाट गरेको प्रहारले जाली चुम्यो । बुढाथोकीको दोस्रो गोलसँगै दर्शकको भरपुर समर्थन बटुलेको घरेलु टिम विराटनगरको जित निश्चित हुँदा जवाफी गोल फर्काउन नसक्नु सिक्किमका लागि दुर्भाग्यपूर्ण बन्यो ।

सिक्किमका भुवन बस्नेतले खेलको २४ औँ मिनेटमा गरेको प्रहार बाहिरियो । ६५ औँ मिनेटमा भुटियाकै उत्कृष्ट प्रहार बारमा लागेर फर्किएपछि सिक्किमको गोल्डकप यात्रा टुंगिन पुग्यो । उत्कृष्ट प्रदर्शनका वाबजुत फिनिसिङ फितलो हुनु उसका लागि हारको मुख्य कारण बन्यो ।

खेलका म्यान अफ दी म्याच बुढाथोकीले १० हजार रुपैयाँ प्राप्त गरे । विराटनगरका प्रशिक्षक सञ्जीव बुढाथोकीले खेलाडीको अथक मिहिनेत जितको आधार बनेको प्रतिक्रिया दिए । तर अरु धेरै अवसर गुमाउँदा फराकिलो अन्तरको जित भने हात पर्न नसकेको उनको भनाइ छ ।

सिक्किमका प्रशिक्षक नाडम भुटियाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु टिमको दुर्भाग्य रहेको बताए । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले सात लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाली सात र विदेशी तीनसहित १० वटा टिमको सहभागिता रहेको गोल्डकपका सबै खेल रातको समयमा हुने छन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

आयोजक समितिका संयोजक मनोजविक्रम शाहका अनुसार गोल्डकप आयोजनास्थल विराटनरको सहिद रंगशालामा प्रदेश सरकारको लगानीमा स्थायी फ्लड लाइट (बत्ती) जडान गरिएका कारण प्रतियोगिता राति आयोजना गर्न सम्भव भएको हो । पहिलो म्याच खेलेर बाहिरिने टिमले ३० हजार, क्वाटरफाइनलबाट बाहिरिनेले ५० हजार र सेमिफाइनलमा पराजित हुने टिमले ७५ हजार रुपैयाँ सुविधावापत पाउने जानकारी शाहले दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome