आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

विराट गोल्डकप : घरेलु टोली विराटनगर सेमिफाइनलमा

२९ चैत्र, २०७७ १७:०५ मा प्रकाशित

226 पटक पढिएको

birat gold cup 2021

विराटनगर – विराटनगर महानगरपालिका–११ प्रदेश १ को राजधानी विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा विदेशी पाहुना टोली भारतको सिलिगुडी युनाइटेड फुटबल क्लब पश्चिम बंगालको चुनौती ३–० गोल अन्तरले पन्छाउँदै घरेलु टिम विराटनगरले गोल्डकप यात्रालाई जारी राखेको हो।

सेमिफाइनल यात्रा सुरक्षित गरेको विराटनगरले अब सोमबार हुने विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

एक पक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे। खेलको २५ औँ मिनेटमा विराटनगरले गोलको खाता खोल्दा पश्चिम बंगाल दबाबमा पर्‍यो। प्रकाश बुढाथोकीको क्रस पासमा सुनिल खड्काले डी–बक्सभित्रबाट गरेको प्रहारले पोस्टको दिशा पाउँदा विपक्षी गोलरक्षक निजम सिंहले कुनै मौकै पाएनन्। यद्यपी घरेलु मैदानमा दर्शकको भरपुर समर्थन बटुल्न सकेको विराटनगरले गोल गर्ने अन्य अवसरलाई भने सदुपयोग गर्न सकेन।

पहिलो हाफ १–० गोल अन्तरमा सकियो। ८६ औँ मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको प्रहार गोलमा परिणत हुँदा खेल २–० को अवस्थामा पुग्यो। सन्तोष खड्काले मिलाइदिएको बललाई उनले सोझै प्रहार गरेर पोस्टको बाटो देखाउँदा विराटनगरले अग्रता दोब्बर बनायो।

त्यसको दुई मिनेटमै विराटनगरले अर्को गोल थप्यो। ८८ औँ मिनेटमा सुनिलले आफ्नो नाममा दोस्रो गोल दर्ता गर्दै खेललाई ३–० को अवस्थामा पुर्‍याएर टिमको जित निश्चित गरे। फराकिलो अन्तरको जित निकाल्दै विराटनगरले सेमिफाइनल यात्रा सुरक्षित गर्दा पश्चिम बंगाल भने नतिजाविहीन बनेर फर्कनु पर्‍यो।

मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरे पनि पश्चिम बंगालले निराशा बोकेर फर्कियो। खेलको ६८ औँ मिनेटमा पश्चिम बंगालका सौरभ तामाङ्गको गतिलो प्रहार गर्न सकेनन्। ७० औँ मिनेटमा भारतका सुरज राउतको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन। वान भर्सेस वानको स्थितिलाई सदुपयोग गर्न नसकेका सुरजको प्रहारमा विराटनगरका गोलरक्षक किशोर गिरी बाधक बनिदिए। ७५ औँ मिनेटमा फ्रिकिकको अवसर पाए पनि खेर जाँदा पश्चिम बंगाल गोलविहीन बन्दै गोल्डकपबाट बाहिरियो।

आफ्नो नाममा दुई गोल दर्ता गराएका विराटनगरका सुनिल खेलको म्यान अफ दी म्याच बने। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

विराटनगरका प्रशिक्षक सञ्जीव बुढाथोकीले पहिलो हाफमा खेलाडीले गतिलो प्रदर्शन गर्न नसकेको बताए। तर मध्यान्तरपछि उत्कृष्ट प्रदर्शन गर्दा फराकिलो अन्तरको जित सम्भव भएको उनको भनाइ छ। अवस्था हेर्दा सेमिफाइनल खेलमा रणनीति परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बुढाथोकीको भनाइ छ।

पश्चिम बंगालका प्रशिक्षक अनिमेश तामाङ्गले पाएका अवसरको सदुपयोग नहुनु र खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसक्नु हालको मुख्य कारण बनेको प्रतिक्रिया दिए। आइतबारको खेलमा मछिन्द्र क्लब काठमाडौं र भारतको पञ्जाव पुलिसबीच प्रतिस्पर्धा हुनेछ। पञ्जाव शुक्रबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको टिम हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome