शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

वीरगन्जमा कोरोना संक्रमणको दर दिनहुँ बढ्दै, बेड छुट्याउन निजी अस्पताललाई निर्देशन

३१ चैत्र, २०७७ १६:२९ मा प्रकाशित

607 पटक पढिएको

corona dna

वीरगन्ज – वीरगन्जमा केही दिनयता कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएपछि फेरि त्रास बढेको छ । दुई दिनयता परीक्षण गराउन आएकामध्ये आधाजसोमा कोरोना संक्रमण भेटिन थालेपछि गत असार साउनको महामारीका बेलाको जस्तो त्रासमा नगरवासी परेका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी ९५ जनाको स्वाब परीक्षण गर्दा झण्डै आधाजतिमा अर्थात् ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बेलुकी ९५ जनाको परिक्षण गर्दा पर्साका ३७ जना र बाराका ३ जना गरी कुल ४० जनामा संक्रमण पुष्टि भएको नाराणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

पर्साका ३७ मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३६ जना छन् । बाँकी १ जना भने बहुदरमाइ नगरपालिका वडा नम्बर ३ का हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का १३ जना , वडा नम्बर १० का ८ जना , वडा नम्बर ७ र १६ का ३/३ जना , वडा नम्बर १३ का २ जना तथा वडा नम्बर ३ , ५ , ७ , ११ ,१२ , २५ र २६ का /१ जना संक्रमित भएका हुन् ।

यसअघि आइतबार बेलुकी पनि वीरगन्जमा ६० जनाको परीक्षण गर्दा २८ जनामा संक्रमण भेटिएको थियो ।

विधार्थी संक्रमण देखिएपछि नर्सिङ कलेज बन्द

यसैबीच विधार्थी र कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वीरगन्ज ४ स्थित चिकित्सा विज्ञान अध्ययन संस्थान (नर्सीङ कलेज ) बन्द गरिएको छ। कलेजका १९ जनामा संक्रमण भेटिएपछि मङगलबारदेखि कलेज नै बन्द गरिएको हो ।

कलेजका १८ जना विधार्थी र १ जना वार्डेन गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । तीन दिनअघि वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा ३४ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये नर्सिङ क्याम्पसका २ जना थिए ।

गत आइतवार ६० जनाको परीक्षण गर्दा २८ जना संक्रमित मध्ये वीरगन्ज नर्सिङ क्याम्पसका ४ जनामा संक्रमण देखिएको थियो । सोमबार गरिएको ९५ जनाको पीसीआर परीक्षणमा ४० जना संक्रमित भेटिएकोमा ती मध्ये नर्सिङ कलेजका १३ जना छन् ।

९० जना अध्ययनरत कलेजमा १८ विधार्थी र १ वार्डेन गरी १९ जना संक्रमित भएपछि मङगलवार देखि कलेजमा पठनपाठन बन्द गरिएको कलेजका प्रशासन प्रमुख सुरेन्द्र ओझाले जानकारी दिए । कोरोना रिपोर्ट नेगेटिभ आएका विधार्थीलाई १० दिनको विदा दिएर घर पठाइएको उनले बताए । संक्रमित १८ विधार्थी र १ वार्डेनलाइ भने कलेजमै आइसोलेसन बनाएर राखिएको कलेजकी प्रमुख सूर्या कोईरालाले जानकारी दिइन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि नर्सिङ कलेजका संक्रमितलाई कलेजकै होस्टलमा आइसोलेसन बनाएर राखिएको बताए । संक्रमित नभएका विधार्थीलाई भने भर्चुअल कक्षा संचालन गर्नेगरी बिदा दिएर क्याम्पस बन्द गर्न लगाइएको उनले बताए ।

यसैबीच वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्नेहरुको परीक्षणका क्रममा दुईजनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको झारखण्डबाट आएकी २८ वर्षीया महिला र वीरगन्ज– १३ का ३४ वर्षीय पुरुषमा एन्टिजेन पोजिटिभ पुष्टि भएको हो ।

झारखण्डबाट श्रीमान्लाई भेट्न आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि भारततर्फ नै फर्काइएको छ भने वीरगन्ज १३ का ३४ वर्षीय पुरुष भने होम आइसोलेसनमा बसेका छन् । हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीका अनुसार , सोमबार हेल्थ डेस्कमा ६० जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

बेड छुट्याउन निजी अस्पताललाई निर्देशन

वीरगन्जमा केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा संचालित सबै निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि बेड छुट्याउन निर्देशन दिएको छ ।

आइतबार महानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै महानगरपालिका भित्र संचालित सबै निजी क्षेत्रका अस्पताललाई कम्तिमा कुल बेड संख्याको २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको हो ।

कोरोना भाइरसको दोस्रो लहर नेपाल प्रवेश गर्न सक्ने अनुमान लगाउँदै पूर्व तयारी अनुरुप जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले गरेको निर्णय अनुसार महानगरपालिकाले निजी अस्पताललाई निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome