शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

विराट गोल्डकप : संकटालाई हराउँदै पञ्जाव सेमिफाइनलमा

३ बैशाख, २०७८ १८:०३ मा प्रकाशित

566 पटक पढिएको

punjab police in birat gold cup

विराटनगर – भारतको पञ्जाव पुलिस क्बल विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। सहिद रंगाशालामा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आहा-रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै पञ्जावको विभागीय टोली फाइनलमा पुगेको हो।

पञ्जावले उपाधि रक्षाका लागि छैठौँ संस्कारको विराट गोल्डकपको शनिबार हुने अन्तिम स्पर्धामा नेपालकै अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंको सामाना गर्नुपर्नेछ।

पञ्जावको विभागीय र नेपालको पनि विभागीय टिमबीचको फाइनल प्रतिस्पर्धा निक्कै रोचक हुने अपेक्षा गरिएको छ। पञ्जावको जितमा परमजीत सिंह नायक बने। ७५ औँ मिनेटमा उनले गरेको गोल पञ्जावलाई फाइनल यात्रा सुरक्षित गर्नका लागि पर्याप्त बन्यो। हरजिन्द्र सिंहले दिएको क्रस पासमा परमजीतको प्रहारले फ्रेमभित्र प्रवेश पाउँदा विराट गोल्डकपको फाइनल खेल्ने संकटाको सपना सकियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पञ्जावले २०७० सालको गोल्डकप विजेता संकटाविरुद्ध बाजी मार्न निक्कै समय पर्खनु पर्‍यो। तर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको उसले संकटाको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नतिजा भने आफ्नो पक्षमा पारेर छाड्यो। पञ्जावले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन। १० औँ मिनेटमा हरेसदेव सिंहको प्रहार बाहिरिँदा उसले खेलमा सुरुवाती अग्रता बनाउन पाएन। ३० औं मिनेटमा राजवीर सिंहले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा संकटाका गोलरक्षक राजाबाबु थापा बाधक बनिदिँदा पञ्जावले पहिलो हाफमा थप अवसर सिर्जना गर्न सकेन।

केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु स्वदेशी मैदानमा संकटाका लागि दुर्भाग्यपूर्ण बन्यो। ७ औँ मिनेटमा एक्लै अघि बढेका तीर्थ बस्नेतको प्रहार खेर गयो। १५ औँ मिनेटमा गणेश हमालको पासमा विदेशी खेलाडी ओडेजले गरेको हेड प्रहार गोलरक्षक सतवीर सिंहको हातमा पुग्दा संकटाले पञ्जावलाई सुरुवाती दबाबमा राख्न सकेन। आक्रामक खेल पस्किए पनि ६६, ७३ र ८९ औँ मिनेटमा गोल गर्ने अवसरबाट चुक्दा संकटाको फाइनल यात्रा समाप्त भयो।

खेलको म्यान अफ दी म्याच पञ्जावका लागि निर्णायक गोल गरेका परमजीत सिंह घोषित भए। उनले नगद १० हजार रुपैयाँ पाए।

पञ्जावका कप्तानले फाइनल खेल्न नपाउने

पञ्जाव पुलिस क्लबका कप्तान जगदीप सिंहले विराट गोल्डकपमा एपीएफविरुद्धको फाइनल खेल खेल्न नपाउने भएका छन्। खेल सकिएपछि संकटाका साहिद स्मार्ट र उनले रातो कार्ड पाएका थिए। झगडामा उत्रिएपछि रेफ्री श्याम दनुवारले दुवै खेलाडीलाई रातो कार्ड दिँदा जगदीप भने फाइलन खेल्नबाट बञ्चित भएका हुन्। खेलको अनुशासनभन्दा बाहिर गएका कारण रातो कार्ड पाउँदा पञ्जावले गोल्डकपको अन्तिम स्पर्धामा आफ्नै कप्तानलाई उतार्न नसक्ने भएको हो।

रेफ्री दनुवारले खेल सकिएको घोषणा गरेपछि दुई खेलाडी मैदानमै झगडा गर्न थालेका थिए। त्यसको असर फाइनलमा पञ्जावले बेहोर्नुपर्ने अवस्था आएको हो। टोली कप्तान नै बाहिर रहनुपर्ने भएपछि फाइनलमा नेपालको विभागीय टिमसँगको खेलमा पञ्जावको प्रदर्शन केही कमजोर हुने आंकलन गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome