शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

संकटा क्लब ११ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

८ बैशाख, २०७८ १६:२२ मा प्रकाशित

735 पटक पढिएको

sankata in semifinals of simara gold cup 2021

सिमरा – आहा रारा गोल्डकपको उपाधी जित्दै बारा आइपुगेको संकटा क्लब सिमरामा जारी ११औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा विजय युथ क्लब हेटौंडालाई २-१ स्तब्ध पार्दै संकटाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

संकटाको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ। संकटाले अब फाइनल प्रवेशका लागि बिराट गोल्डकपको बिजेता एपिएफ क्लबसँग बिहीबार खेल्नेछ भने आयोजक नव जनजागृति युवा क्लबले अफ्रिकन रुट्स एशोसिएशनको सामना गर्नेछ।

विजय युथ जीतपुरसिमरा गोल्डकपको सातौं संस्करणको बिजेता हो भने संकटाले आठौं सस्करणको उपाधी उचालेको थियो। जारी संस्करणमा संकटाको यो पहिलो र विजय युथको दोस्रो खेल हो। पहिलो खेलमा सुदुरपश्चिम ११ लाई २-० ले पराजित गरेको हेटौंडाले संकटासामु आकर्षक खेल पस्कन सकेन।

हेटौंडालाई पन्छाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको संकटाको प्रदर्शन भने मध्यम रहयो। खेलको सुरुवातमै हेटौंडाविरुद्ध लिएको अग्रता जोगाउन नसकेपछि संकटाले अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो। संकटाको जितमा ओडे ग्लोरी र गणेश हमालले गोल गरे। हेटौंडाका लागि फोफनाले गोल गरेका थिए।

आपसी तालमेलको खोजीमा रहेको हेटौंडाविरुद्ध संकटाले खेलको ९औं मिनेटमा अग्रता लियो। कप्तान सुभाष गुरुङको क्रस बललाई ओडे ग्लोरीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। उनको प्रहारलाई हेटौंडाका गोलरक्षक अशोक बरालले ठम्याउन सकेनन्।

पहिलो हाफमा बनाएको केही अवसर सदुपयोग गर्न नसक्दा दवावमा देखिएको हेटौंडाले खेलको ३९औं मिनेटमा बराबरी गोल फर्कायो। डिबक्स भित्र अनमार्क रहेका फुफनाले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए। घरेलु दर्शकको समर्थन पाएको हेटौंडा खेलमा फर्किएपछि भिडन्त रोमाञ्चक बन्न पुग्यो।

यसअघि खेलको ३६औं मिनेटमा संकटाका रोमन लिम्बुले आफूलाई लडाएपछि पाएको फ्रिकिकमा फुफना गोल गर्न चुके। उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो। त्यसको केही समयमै फुफनाले खेल १Ð१ को स्थितीमा ल्याएका हुन्। संकटाका लागि भने खेलको २८औँ मिनेटमा कप्तान सुभाष गुरुङले उत्कृष्ट अवसर गुमाए। डिबक्स भित्रको बलमा उनको प्रहार निकै फितलो देखियो। उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा संकटाले गोल गर्ने अवसर गुमायो।

पहिलो हाफमा केही दवावमा देखिएको हेटौंडाले दोस्रो हाफमा भने सम्हालिएर खेल प्रदर्शन गर्‍यो। ए डिभिजन क्लब संकटाविरुद्ध लगातार अवसर बनाएको हेटौंडाको फिनिसिङ पक्ष भने कमजोर देखियो। खेलको ६५औं मिनेटमा नदोङ भुटियाले आकर्षक अवसर खेर फाले। गोललाइन छेउको बलमा उनको प्रयास फितलो बन्न पुग्यो।

लगत्तै खेलको ७०औँ मिनेटमा हेटौँडाका सन्तबहादुर गुरुङले संकाटाको रक्षापंक्तिलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सकेनन्। संकटाविरुद्ध खेलको अन्तिम समयमा लय समातेको हेटौंडाका खेलको ७९औं मिनेटमा वन भर्सेस वनको स्थित चुके। उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो।

दोस्रो हाफमा हेटौंडाले आक्रामक प्रदर्शन गरेपछि रक्षात्मक बन्न पुगेको संकटाले खेलको अन्तिम समयमा निर्णायक गोल गर्‍यो। खेलको ८९औं मिनेटमा प्रकाश बुढाथोकीको क्रसमा गणेश हमालले टिमका लागि बिजयी गोल गरे। अन्तिम समयमा संकटाले गोल गरेपछि रंगशालामा उपस्थित समर्थक पनि निराश हुने पुगे।

संकटाविरुद्ध फिनिसिङमा चुकेको हेटौंडा अन्तिम समय सम्हालिन नसक्दा उपाधी होडबाट बाहिरिंदै घर फर्कन बाध्य भयो। संकटाका गोलरक्षक राजाबाबु थापा खेलको म्यान अफ दि म्याच घोषित भए। उनले पाच हजार नगद हात पारे।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक क्लब र अफ्रिकन रुट्स एशोसिएशनबीच खेल हुनेछ। अफ्रिकन रुट्स आहा रारा गोल्डकपको उपबिजेता हुँदै बारा आएको हो। अफ्रिकन रुट्सले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome