सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

मृगलाई हानेको बन्दुकको छर्राले साथीको मृत्यु, दुईजना पक्राउ

१२ बैशाख, २०७८ १९:१८ मा प्रकाशित

415 पटक पढिएको

culprits in custody

विराटनगर – सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर मोरङको केराबारीमा एक जनाको ज्यान गएको छ। बन्दुकको छर्राले लागेर केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार सिकार खेल्न भनेर सँगै गएका साथीमध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई भनेर प्रहार गरेको बन्दुकको छर्राले लागेर हस्तको ज्यान गएको खुलेको छ। हस्त र गजेन्द्रसँग रातको समयमा बाँसघारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न २६ वर्षीय रुविन लिम्बू पनि गएका थिए।

बन्दुक पड्किएर बुधबार राति ९ बजेतिर हस्तको घटनास्थलमै मृत्यु भए पनि घटनाका बारेमा प्रहरीले भोलिपल्ट (बिहीबार) बिहान ९:३० बजेतिर मात्रै जानकारी पाएको थियो। सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफै इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना १२ घण्टापछि मात्रै बाहिर आएको हो।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले त्यतिबेला हस्त आफैंले बोकेको बन्दुक पड्किएर घटना भएको बताएका थिए। तर प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा गजेन्द्रले मृगलाई ताकेर हानेको बन्दुकको छर्राले दायाँ कुममा लागेर हस्तको मृत्यु भएको खुलेको डीएसपी राईले बताए। प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको थियो। मृतकलाई प्रहार गरिएको त्यही बन्दुकको छर्राले लागेर हस्तको ज्यान गएको डीएसपी राईले बताए।

शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome