शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

विराटनगरमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै

२८ बैशाख, २०७८ १७:२१ मा प्रकाशित

281 पटक पढिएको

holding center biratnagar

विराटनगर – कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकाभित्र एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाइने भएको छ । रानीस्थित मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्सको खाली तथा अतिक्रमित जग्गामा ‘होल्डिङ सेन्टर’ बनाउन प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला सुरक्षा समिति मोरङको बैठकबाट ‘होल्डिङ सेन्टर’का लागि उपयुक्त स्थानको छनोट गरिसकिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । त्यसका लागि तीन बिघा जग्गा आवश्यक पर्ने भएकाले जुट मिल्सको खाली तथा अतिक्रमित जग्गा सिफारिस गरेर व्यवस्थापन पक्षसँग आवश्यक समन्वय गर्ने काम भइरहेको जानकारी उनले दिए ।

डिजाइनसहित अनुमति प्राप्त भएपछि ‘होल्डिङ सेन्टर’ बनाउने काम तत्काल थाल्ने योजना रहेको उनको भनाइ छ । ‘कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको छिमेकी मुलुक भारतबाट आउनेहरुलाई ‘होल्ड’ गरेर राख्नका लागि ‘सेन्टर’को आवश्यकता थियो,’ प्रजिअ निरौलाले भने, ‘आफन्त, परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पछि जिम्मा लगाइने गरी त्यहाँ राखिने छ ।’

भारतबाट आउनेहरुको सुरुमा रानी नाकाको हेल्थ डेक्समा एन्टिजेन परीक्षण गरिने छ । रिपोर्ट पोजिटिभ आएमा उपचारका लागि लगिने र नेगेटिभ आएमा ‘सेन्टर’मा राख्दै जिम्मा लिन आउन परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहलाई खवर गरिने निरौलाको भनाइ छ । उनका अनुसार विशेष गरेर भारतबाट आएका मोरङभन्दा बाहिरका जिल्लाका बासिन्दाका लागि यसको अति नै आवश्यक थियो । केही दिनदेखि रानी नाका हुँदै भारतबाट दैनिक २० जनाभन्दा बढी नेपाल प्रवेश गरिरहेका छन् । यसअघि दैनिक दुई सयभन्दा बढी आउने गरेका थिए ।

तयार भइसकेपछि ‘सेन्टर’मा खानपिनसहित कम्तीमा १२ दिनसम्म राख्ने व्यवस्था मिलाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘भारतबाट आएका तर बाहिरका जिल्ला घर भएकाहरु अलपत्र नपरुन् भनेर ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो,’ उनले भने, ‘यसले कोरोनाको भयावह अवस्थामा भारतबाट फर्किएकाहरुलाई ठूलो राहत मिल्ने छ ।’ ‘होल्डिङ सेन्टर’ बनाउँदा खाली तथा अतिक्रमित जग्गाको उपयोग हुने र संक्रमण फैलने जोखिम पनि कम हुने एसपी खड्काले बताए ।

प्रदेश १ सरकारको सहयोगमा अहिले विराटनगरमा ७५ जना क्षमताको मात्रै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा छ । यसको सुरक्षामा नेपाली सेना खटाइएको छ । यसअघि ‘होल्डिङ सेन्टर’ नहुँदा भारतबाट आएकाहरु सिधै गाउँघर पुग्ने गरेका थिए । भारतबाट आएकाहरु कै कारण कोरोना संक्रमण तीव्र रुपमा फैलिएको पाइएपछि एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो ।

सेनाको शव व्यवस्थापन टोली विराटनगरमा

यसैबीच संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएको नेपाली सेनाको विशेष टोलीलाई विराटनगरमै ल्याएर राखिएको छ । शव व्यवस्थापनमा परिचालन गरिँदै आएको आठ जनाको टोलीलाई छुट्टै आइसोलेसनसहित नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणका गणपति एवं प्रमुख सेनानी गणेश रावलले जानकारी दिए ।

उनका अनुसार संक्रमितको शव व्यवस्थापनका लागि मोरङमा सेनाको चार/चार जनाको दुईवटा टोली परिचालित छ । यो टोली दुई साताका लागि मात्रै विराटनगर बस्ने छ । त्यसपछि अर्को टोलीले पालो दिएसँगै क्वारेन्टाइनमा बस्न जान्छ । संक्रमितको शव व्यवस्थापन गर्ने टोली प्रत्येक १५/१५ दिनमा परिवर्तन गरिने जानकारी रावलले दिए । यसअघि सेनाको ‘बडी व्यवस्थापन’ टोली गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिएको थियो ।

विराटनगरका अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु धेरै हुन थालेपछिसेनाले दैनिक १० वटासम्म शवको व्यवस्थापन गरिरहनु परेको छ । होम आइसोलेसनमा पनि विराटनगरमै मृत्यु धेरै छ । संक्रमितको मृत्यु भएको जानकारी पुगेपछि तयार भएर आउन नै समय लाग्ने र बेलैमा शवको व्यवस्थापन गर्न गाह्रो भएर अवस्था जटिल बन्न थालेपछि टोलीलाई विराटनगर ल्याएर राखिएको प्रमुख सेनानी रावलको भनाइ छ ।

‘विराटनगरमा होम आइसोलेसन र अस्पतालमा धेरै संक्रमितको मृत्यु भइरहेको छ,’ उनले भने, ‘शव व्यवस्थापन चाँडै गर्न सकियोस् भनेर टोलीलाई नजिकै ल्याएर राखिएको हो ।’ त्यसले असहज परिस्थितिको अन्त्य र समयको बचत तथा शवको व्यवस्थापन चाँडो हुने उनको भनाइ छ । रेडक्रसको भवनमा सेनाको टोलीमात्रै राखिने र अरु बाहिरका कोहीसँग पनि सम्पर्क नहुने जानकारी रावलले दिए । उनका अनुसार कोरोना नियन्त्रणका लागि नेपाली सेनाले नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome