सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, ३० गतेभित्र नयाँ प्रधानमन्त्रीको दाबी गर्नुपर्ने

२८ बैशाख, २०७८ १७:२८ मा प्रकाशित

544 पटक पढिएको

bidhya devi bhandari

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै उनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आग्रह गरेकी हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेको सहायक प्रवक्ताले केशव प्रसाद घिमिरेले जानकारी दिए।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ।’

यस अगाडि प्रधानमन्त्री केपी ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका थिए।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न उनीहरूले संयुक्त रुपमा राष्ट्रपतिलाई आह्वान गरेका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।

प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्‍वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्‍वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome