शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नेपाल कोरिया मैत्री अस्पतालमा अक्सिजन उत्पादन सुरु

३ जेष्ठ, २०७८ १७:०५ मा प्रकाशित

575 पटक पढिएको

oxygen plant at nepal korea friendly hospital

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन ग्यास उत्पादन सुरु गरेको छ।

भेरियन्टसहितको नयाँ कोरोना भाइरस संक्रमितहरुको संख्या बढेसँगै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेको हो। जुन प्लान्टबाट अहिले अक्सिजन उत्पादन भई बिरामीहरुलाई उपलब्ध गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रो.डा. ज्ञानकृष्ण कायस्थले जानकारी दिए।

देशभर अक्सिजनको ग्यास अभावले संक्रमितहरुले मृत्युवरण गरिरहेको बेला नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन सुरु गर्नु खुसीको कुरा हो। यसले संक्रमितहरु प्राणवायु अक्सिजनको अभावले प्राण त्याग्न बाध्य हुने छैनन् भनी विश्वास गर्न सकिन्छ।

चिकित्सकका अनुसार कोरोना भाइरसको दोस्रो लहरका अधिकांश संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भएको छ। जति संक्रमित आउँछन्, सबैलाई अक्सिजन चाहिन्छ। त्यसैले अहिले अक्सिजनको माग अत्यधिक भएको चिकित्सक बताउँछन्। उनीहरु यहीं स्थिति रहेमा हरेक अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएर पनि संक्रमितलाई थेग्न मुस्किल पर्ने बताउँछन्।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. कायस्थले अस्पतालको प्लान्टबाट अहिले दैनिक ८ हजारदेखि १२ हजार लिटरसम्म अक्सिजन उत्पादन भइरहेको जानकारी दिए। उत्पादित अक्सिजनले गर्दा अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितहरुको उपचारमा सहज भएको उनको भनाइ छ।

‘अस्पतालकै प्लान्टबाट अक्सिजन उत्पादन भएपछि कोरोना भाइरस संक्रमितहरुको उपचारमा धेरै सजिलो भएको छ’, उनले भने, ‘तर यो नै पर्याप्त होइन। अझै बाहिरबाट अक्सिजन मगाइरहनुपर्छ। अक्सिजन सिलिन्डरकै भर पर्नुपरिरहेको छ।’

अस्पताललाई अहिले दैनिक ९० वटा अक्सिजन ग्यासको सिलिन्डर आवश्यक पर्छ। जबकी प्लान्टबाट मुस्किलले १६ वटा सिलिन्डर प्रयोग हुन्छ। कूल ९० शैय्याको अस्पतालमा अहिले आधामा कोरोनाका संक्रमितको उपचार भइरहेको छ। भेन्टिलेटरसहितको ७ शय्याको आईसीयूसमेत कोरोना भाइरस संक्रमितले ओगटिरहेका छन्।

अस्पतालमा संक्रमितको चाप बढेपछि आइतबारमात्रै काठमाडौं महानगरपालिकाले अस्पताललाई ३ वटा भेन्टिलेटर सहयोग गरेको छ।
आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएकाले कोरोना भाइरस संक्रमितलाई लक्ष्य गरी १५ शय्या थप्ने तयारी भइरहेको डा. कायस्थ बताउँछन्।

‘संक्रमितको चापले पनि शय्या बढाउनु आवश्यक छ’, उनले थपे, ‘तर शय्या बढाउनेबित्तिकै पहिलेजस्तो अक्सिजन ग्यासको अभावले गार्‍हो बनाउने सम्भावना पनि छ।’

अहिले अधिकांश संक्रमितलाई अक्सिजन अनिवार्यजस्तै भएकाले अस्पतालको प्लान्टले मात्रै नथेग्ने उनी सुनाउँछन्।

‘यही रफ्तारमा संक्रमित बढ्यो भने हाम्रो अक्सिजन प्लान्टले धेरै सानो हुनेछ’, डा. कायस्थले थपे, ‘हामी संघर्ष गरिरहेका छौं। अस्पतालको पूर्वाधार र क्षमता नबढाई सुखै छैन।’

सरकारको सीसीएमसीले अस्पतालहरुलाई अक्सिजन ग्यासको कोटा निर्धारण गर्दा अरु अस्पतालजस्तै नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि नराम्ररी प्रभावित भयो। एकदिन त १० मिनेटको लागिमात्रै अस्पतालसँग अक्सिजन थियो। धन्न नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतका जनप्रतिनिधि, अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको अथक प्रयासपछि अक्सिजनको जोहो भएको डा. कायस्थ सुनाउँछन्।

‘त्यसबेला अक्सिजनको तत्काल जोहो गर्न नसकिएको भए अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको अवस्था के हुन्थ्यो भन्न सकिने अवस्था थिएन’, उनले थपे, ‘धन्न समयमै अक्सिजनको व्यवस्था भयो र संक्रमितहरुको जीवन रक्षा गर्न सक्यौं।’

अस्पतालले हावामा आधारित अक्सिजन प्लान्ट जडान गर्न ५० लाखभन्दा बढी बजेट खर्च गरेको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणबाट थ्रीफेज लाइनको लागि छुट्टै ट्रान्स्फर्मरको व्यवस्था गर्नुपरेको अस्पतालले जनाएको छ। त्यस्तै अक्सिजन प्लान्टको लागि छुट्टै भवनसमेत बनाउनुपर्दा सोचेभन्दा ढिलो अक्सिजन उत्पादन सुरु भएको बताइएको छ।

‘प्लान्ट स्थापना भए पनि यसलाई स्वचालित बनाउन बाँकी छ’, निर्देशक डा. कायस्थले भने, ‘अहिलेलाई म्यानुअली काम गरेका छौं। २४ सै घन्टा कर्मचारी खटिनुपर्छ।’

अस्पताल सञ्चालक मध्यपुर थिमि नपाका सूचना अधिकारी केशव सिलवालले संक्रमितको उपचारलाई लक्षित गरी अस्पताललाई १० लिटर क्षमताको ४० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग प्राप्त हुन लागेको जानकारी दिए। हाल अस्पतालसँग ५ लिटर क्षमताका ९ वटा अक्सिजन कन्सन्ट्रेटर रहेका छन्।

भक्तपुरमा पनि जडान हुँदै अक्सिजन प्लान्ट
भक्तपुरको लागि कोरोना हब अस्पताल भक्तपुर अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान हुने भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा करिब ५ करोड लागतमा अमेरिकी प्रविधिको तरल अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट जडान गर्न लागेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

उनले कम्तीमा एकमहिनाभित्र उक्त प्लान्ट जडान हुने दावी गरिन्।
उनका अनुसार उक्त प्लान्टले प्रतिमिनेट ४० लिटर तरल अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ। जसअनुसार प्रतिदिन एकहजार ५ सय सिलिन्डिर अक्सिजन ग्यास उत्पादन गर्ने मेसु डा. गौतम बताउँछिन्।

सरकारको कोटा प्रणालीले गर्दा भक्तपुर अस्पतालले पनि आवश्यकताअनुसार अक्सिजन पाउन नसकिएको उनले गुनासो गरिन्।

‘अस्पताललाई दैनिक १२० सिलिन्डर आवश्यक पर्छ तर सरकारी कोटाअनुसार बढीमा ३० वटामात्रै सिलिन्डर अस्पतालले पाउन सक्यो’, डा. गौतमले थपिन्, ‘त्यसले नपुगेपछि जनकपुर, निजगढ र नुवाकोटको ककनीबाट अक्सिजन मगाएर गर्जो टारिरहेका छौं।’

उनले अस्पताललाई दैनिक १०० वटा अक्सिजन सिलिन्डर दिनुपर्ने सगरमाथाले नदिएर कालोबजारी गरेको आरोपसमेत लगाइन्।

‘यसरी नै अक्सिजन ग्यास अभाव हुने भए अस्पतालले थप सेवा दिन सक्दैन’, डा. गौतमले भनिन्, ‘तर अक्सिजन सहज भए थप ४० शय्यामा संक्रमितलाई उपचार दिन सकिन्छ।’

उनले अस्पतालको आईसीयूमा १० शैय्या थप्ने तयारी भइरहेको जानकारी दिइन् तर अस्पतालकै अक्सिजन प्लान्ट नभई थप हुने आईसीयू सञ्चालन गर्न सकिने अवस्था हुँदैन।

अहिले अक्सिजन अभावले अस्पतालको अवस्था दयनीय बन्दै गएको भन्दै मेसु डा. गौतमले अस्पतालमा उपचाररत ६४ जना संक्रमितलाई जेनतेन अक्सिजनको व्यवस्था गर्दै आएको प्रतिक्रिया दिइन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome