शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संक्रमितको उपचारमा लापरवाहीको गुनासो बढ्दै गएपछि वीरगन्जका अस्पतालमा अनुगमन

३ जेष्ठ, २०७८ १७:२७ मा प्रकाशित

315 पटक पढिएको

hospital inspection birgunj

वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमितको उपचारमा लापरवाही भएको गुनासो बढ्दै गएपछि युवाहरुको सक्रियतामा गठित कोभिड एक्सन टीम (क्याट ) ले अस्पतालमा अनुगमन सुरु गरेको छ ।

अस्पतालमा अनुमगनका क्रममा क्याटको टोलीले संक्रमितका कुरुवा र अस्पतालका स्वास्थ्यकर्मीलाई भेटेर उपचारको अवस्था बारे जानकारी लिने गरेको छ । त्यसक्रममा उपचार र अन्य व्यवस्थापनमा देखिएका त्रुटी सुधार गर्न क्याटको टोलीले सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराउँदै आएको छ ।

पहिलो दिन आइतबार नारायणी अस्पतालमा पुगेर अनुगमन गरेको क्याटको टोलीले सोमबार भने बाबा होटलमा नेशनल मेडिकल कलेजले संचालन गरेको कोरोना अस्थायी अस्पतालमा अनुगमन गरेको छ ।

मेडिकल कलेजको कोरोना अस्पतालमा क्याटले गरेको अनुगमनका क्रममा अधिकांश संक्रमितका कुरुवाले अक्सिजनको कमीका कारण संक्रमितको उपचारमा समस्या भइरहेको गुनासो गरेका छन् ।

अक्सिजन सकिएका बेला अस्पताल व्यवस्थापन पक्षले कुरुवालाई आफै अक्सिजन सिलिण्डरको जोहो गर्न दबाब दिने गरेको गुनासो कुरुवाहरुको रहेको क्याटका सदस्य तबरेज अहमदले बताए ।

कोरोना अस्पतालका संयोजक डाक्टर ओम प्रकाश कुशवाहाले पनि अस्पतालमा अक्सिजनको अभावका कारण उपचार प्रभावित भइरहेको बताएको अहमदले जानकारी दिए ।

डाक्टर कुशवाहाका अनुसार मेडिकल कलेजको कोरोना अस्पतालमा १२ घण्टामा २ सय सिलिण्डर अक्सिजनको आवश्यकता रहेकोमा मुश्किलले ४० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।

समयमा प्रयाप्त अक्सिजन आपूर्ति नहुँदा कोरोना अस्पतालमा मृत्यु दर बढी भएको कुशवाहाले बताएको अहमदले जानकारी दिए । अक्सिजनको अभावका बारेमा मङगलबार पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग छलफल गरी प्रयाप्त अक्सिजनको आपूर्तिको व्यवस्था मिलाइने अहमदले बताए ।

मेडिकल कलेजको कोरोना अस्पतालमा हाल ५० जना गम्भीर अवस्थाका संक्रमित उपचाररत छन् । ती सबैलाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको डाक्टर कुशवाहाले जानकारी दिए ।

यसअघि आइतबार क्याटको टोलीले वीरगन्जस्थित एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा नारायणी अस्पतालमा उपचारको अवस्था पूर्ण रुपमा सन्तोजनक नभए पनि अस्पताले उपचारका लागि आउने कोहि पनि बिरामीलाइ फर्काएको भने नपाइएको अहमदले बताए ।

तर नारायणी अस्पतालमा संक्रमितका कुरुवाहरुको अवस्था भने भद्रगोल पाइएको उनले बताए । अहमदले भने ,‘ हामीले अनुगमनकै क्रममा अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासलाइ बोलाएर कुरुवाहरुको व्यवस्थापन गर्न निर्देशनात्मक आग्रह गर्‍यौं।’

कतिपय अस्पतालले बिरामीलाइ भर्ना नै नलिएको, अस्पतालमा भर्ना भएका संक्रमितको उपचारमै लापरवाही भएको जस्ता गुनासो आउन थालेपछि क्याटले आइतबार देखि अनुगमन थालेको क्याटका संयोजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीले बताए ।

हाल वीरगन्जका सरकारी एक र निजी १३ वटा अस्पतालमा संक्रमितको उपचार भइरहेकाले सबै अस्पतालमा अनुगमन गरिने अन्सारीले बताए ।

अस्पतालका १५० संक्रमितका लागि खाजा सहयोग

क्याटले सोमबार नारायणी अस्पतलमा उपचारत कोरोना संक्रमितलाइ खाजा बाडेको छ । सोमबार अस्पतालमै पुगेर क्याटको टोलीले १ सय ५० जनालाइ पुग्ने गरी दूध , पाउरोटी र अण्डा , नारायाणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासलाइ हस्तान्तरण गरेको हो ।

विभिन्न दाताहरुको सहयोगमा प्राप्त , खाजा सोमबार नारायणी अस्पतालमा लगेर दिइएको क्याटका सदस्य सन्जिव मिश्राले जानकारी दिए । कोरोना संक्रमणको पहिलो लहरका बेला कोभिडका संक्रमित र अन्य रोगका बिरामीको सहायताका लागि वीरगन्जका सामाजसेवी युवा , राजनीति दलका युवा नेताको सहभागीतामा कोभिड एक्सन टिम (क्याट) गठन गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome