शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

चोभारमा बन्दै गरेको अत्याधुनिक सुख्खा बन्दरगाहको काम असारभित्रै सकाउने लक्ष्य

३ जेष्ठ, २०७८ १७:४२ मा प्रकाशित

552 पटक पढिएको

dryport in chobhar kathmandu

काठमाडौं – कोरोना अनि लकडाउन अहिले धेरैका लागि गतिलो बाहना भएको छ। यही बाहना देखाएर सरकारी तथा निजी क्षेत्रका थुप्रै काम र निर्माण योजना अड्किएका छन्। तर स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अपनाउने हो भने कोरोनाको यो समय वा लकडाउन पनि निर्माणका लागि एउटा गजबको अवसर हुनसक्छ। चोभारमा भइरहेको सुख्खा बन्दरगाहको युद्धस्तरीय निर्माण कार्यले त्यही सन्देश दिएको छ। त्यहाँका कर्मचारी र मजदुरहरू कोरोनासँग जोगिँदै धमाधम काम गरिरहेका छन्।

प्रभावकारी नेतृत्व र कुशल व्यवस्थापनले यो संभव भएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशिष गजुरेल हरेक दिनजसो फिल्डमा पुगेर त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरलाई हौसला दिन्छन्। गजुरेल भन्छन्, हामीले कोरोनालाई बाहना भन्दा पनि एउटा अवसरका रुपमा उपयोग गरिरहेका छौं। स्वास्थ्य सुरक्षा र सावधानीका सबै मापदण्ड र उपाय अपनाएर धमाधम काम गरिरहेका छौं।’

राजधानीसँगै जोडिएको चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम लगभग ८० प्रतिशतभन्दा बढी सकिएको छ। सिइओ गजुरेल भन्छन्, ‘असार १५ भित्र निर्माण सकाउने लक्ष्यसहित काम भइरहेको छ। कोरोना र प्रि मनसुने अलिअलि समस्या पारेको छ। तर त्यसलाई हामीले म्यानेज गरेर अघि बढेका छौं।

नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो ।यो बन्दरगाहको योजना २०१० मै तयार भएको थियो। निर्माणको काम २०१८ अगस्टदेखि सुरु भएको थियो। सुरुमा विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ऋण सहयोग गरेको थियो। आयोजन सम्पन्‍न हुँदा यो लागत केही बढ्नेछ। यो बन्दरगाह निर्माणको ठेक्का आशिष-साक्षी जेभीले जिम्मा पाएको हो।

यो बन्दरगाह तयार भएपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका अत्याधुनिक कार्यालय रहनेछन् ।बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो । यो बनेपछि सामान आयात-निर्यातमा सहज हुने कार्यकारी निर्देशक गजुरेल बताउँछन्। यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदैछ ।कोलकाता, विशाखापटनम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ।

अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउँदैछ ।यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने क्षमता छ। यो बन्दरगाह निर्माणपछि सामान आयात-निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ ।

बाहिरी चक्रपथ पनि ड्राइ पोर्ट बन्दै गरेको चोभारसँग जोड्ने योजना छ। त्यसैगरी काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गरिनेछ। चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ। त्यसैले यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्‍ने विश्‍वास गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome