बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

हरेक दिन रेकर्ड ब्रेक गर्दै सेयर बजार

४ जेष्ठ, २०७८ १८:०६ मा प्रकाशित

557 पटक पढिएको

stock market nepal

काठमाडौं – सेयर बजार हरेक दिन रेकर्ड ब्रेक गर्दैछ। साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा गजबको उछाल देखियो।

नेप्से परिसूचक र कारोबार दुवै अंकले नयाँ रेकर्ड कायम गरेका छन्। मंगलबार सेयर बजार परिसूचक ३४.५३ अंकले बढेको छ। नेप्से सूचक २८ सय नजिक पुगेको छ। मंगलबार नेप्से सूचक २७९३.७४ विन्दुमा उक्लिएको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। त्यसैगरी मंगलबार कारोबारमा पनि व्यापक उत्साह देखिएको छ। ११ अर्ब ३५ करोड बढीको कारोबार भएको छ। यो पनि अहिलेसम्मकै उच्चतम भोलुम हो।

कोरोनाको जोखिम र लकडाउनले सबैतिर ठप्प भइरहेका बेला यति धेरै कारोबार हुनुलाई सेयर बजार अझ् बढ्ने संकेतका रुपमा लिइएको छ। कारोबार भोलुम जति बढी भयो, बजार त्यति नै बलियो र सकारात्मक भएको मानिन्छ। यसअघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड बढीको कारोबार भएको थियो। सोमबार पनि करिब साढे नौ अर्बको कारोबार भएको थियो।
राजनीतिक अन्योलको एउटा चरण टुंगिएर केपी ओली पुन: प्रधानमन्‍त्री नियुक्त भएपछि गत आइतबारदेखि नै सेयर बजारमा उछाल देखिएको हो। कोरोना संकटलाई पनि बिर्साउने गरी सेयर बजार उछाल आएको लगानीकर्ताहरू बताउँछन्। मंगलबार हाइड्रो, पर्यटन तथा होटल, विकास बैंक, फाइनान्स र जीवन विमातिर विशेष आकर्षण देखिएको छ। तीन दिनमा झन्डै सय अंकले बजार बढ्दा पनि लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ। बैंकिङको सेयर राम्ररी नबढ्दासम्म सेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन्।

बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताहरूमा आकर्षण अब यतातिर केन्द्रित हुने देखिन्छ। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।तीन चार महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्‍न सकिन्छ। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ‘बुलिस रन’ मा अझ् अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।

जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आउने बेला भएकोले यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोनाका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। यो पैसा अब सेयर बजार ओइरिने संभावना बढेको छ। कम्पनीहरुको कमाइको तुलनामा बजार मूल्य निकै कम भएकोले पनि लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल मंगलबार इतिहासमै सर्वाधिक कारोबार भएकोले अब बजार धेरै परिपक्क भएको बताउँछन्। पौडेल भन्छन्, ‘यो कुनै अस्वभाविक उछाल होइन। यो स्वभाविक गति र लय हो। अझै पनि कतिपय राम्रा कम्पनीहरूको सेयर अन्डरभ्यालुड छ। बजार अझ् माथि जान्छ। पौडेल सेयर बजारमा नयाँ लगानीकर्ताहरूको उत्साह अभूतपूर्व रहेकोले बजारको बुलिस रनलाई कसैले रोक्‍न नसक्के बताउँछन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome