शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीको आग्रह

७ जेष्ठ, २०७८ १६:१८ मा प्रकाशित

799 पटक पढिएको

oli in press briefing

काठमाडौं – प्रधानमन्‍त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको स्पस्ट पारेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाए। उनले भने, ‘मैले त वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ। यहाँ कहाँनिर षडयन्त्र भयो त ? मलाई हटाएर विकल्प दिनुस् भन्दा कसरी षडयन्त्र हुन्छ ?

प्रधानमन्‍त्री ओलीले भने, ‘वैकल्पिक सरकार बनाउनुस्। म रचानात्मक सहयोग गर्छु। सहयोगी, संयमित र शान्त भूमिकामा प्रस्तुत हुनेछ हाम्रो दल। मलाई पनि समर्थन पनि नसक्ने अनि आफूहरू पनि सरकार बनाउन नसक्‍ने अनि षडयन्त्र भयो मात्रै भन्‍ने ? ओलीले अहिलेको अवस्था आउनुमा विपक्षीहरू नै जिम्मेबार रहेको बताए। उनले समयमै अविश्‍वास प्रस्ताव ल्याएर वैकल्पिक सरकार बनाको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भने।

ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न दलहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘म सबै दलहरूसँग आग्रह गर्छु। राष्ट्रिय सहमतिको सरकार बनाऔं अनि मुलुकका संकट र समस्यालाई मिलेर समाधान गरौं। मेरो आग्रह यहीं हो।’

ओलीले देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउन र त्यो संभव नभएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आग्रह गरेको बताए। उनले भने, ‘ मैले आजै बिहान पनि देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउनुस्, हामी पुरै सहयोग गर्छौं।सहयोगी, संयमित र शान्त भूमिकामा प्रस्तुत हुनेछ हाम्रो दल। त्यो संभव नभए मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेको छु।’

सत्ताको अस्वस्थ खेलको चक्रब्यूहमा मुलुक अल्झिनुपर्ने अवस्थालाई अन्त्य गर्न आफूले यस्तो कदम चालेको बताएका छन्। उनले भने, ‘सरकार चलाउन सक्ने अवस्था पनि छैन। नयाँ सरकार बन्‍ने अवस्था पनि छैन। यही जटिल अवस्थामा घुमिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विकल्प दिन खोजिएको हो।’

ताजा जनादेश नै उत्तम विकल्प हुने ठानेर आफूले संसद विघटन गरेको दाबि गरे। संसद पुनर्स्थापना भएको दुई महिनासम्म विपक्षीले अविश्‍वास प्रस्ताव ल्याउन नसकेको बताए। ओलीको भनाइ थियो, ‘विपक्षीहरूले वैकल्पिक सरकार बनाउन सकेनन्। न त संसदले कुनै पनि निकास दिनसक्यो। अनि विश्‍वासको मत माग्‍न खोज्दा त्यो पनि संभव भएन।’

विश्वासको मत लिने समय नभएकाले मार्ग प्रशस्त गरेँ

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको भोलिपल्ट आज उनले प्रधानमन्त्री निवासमा पत्रकार भेटघाट गर्दै उक्त धारणा राखेका हुन्।

प्रधानमन्त्रीले ओलीले गत एक वर्षदेखि सरकार ढाल्ने तथा नयाँ सरकार बनाउने अस्थिर र अस्वस्थ राजनीतिक गतिविधि भई सरकारले राम्रोसँग काम गर्न नसकेकाले निकासका लागि संवैधानिक प्रक्रियाबमोजिम उपधारा ५ का बाटामा अघि बढिएको बताए।

उनले अनुचित अभ्यासको राजनीतिलाई उचित अभ्यासमा लान आफूले गत वैशाखका लागि मध्यावधि निर्वाचन घोषणा गरेकामा सर्वोच्च अदालतको फैसलबाट सफल नभएको र आफूले वैशाख २७ गते लिएको विश्वासको मत अस्वीकृत भएको तथा फेरि पनि विश्वासको मत पाउन सक्ने स्थिति नरहेको स्पष्ट पारे।

ओलीले संविधानको व्याख्या गर्दा देशको राजनीतिक परिस्थितिको विश्लेषण गरेर उत्पन्न समस्याको सम्बोधन गर्ने गरी कदम चालिएको पनि बताए।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन्।

गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दललाई नयाँ प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरिएकामा कुनै दावी नपरेपछि वैशाख ३० गते राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दल नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन्।

यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकामा ‘हाल विकसित राजनीतिक परिस्थितिमा वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेको भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएका’ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएको र सोबमोजिम प्रधानमन्त्रीले आग्रह गरेपछि राष्ट्रपतिले उक्त आह्वान गरेकी हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome