आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन

९ जेष्ठ, २०७८ १०:०६ मा प्रकाशित

751 पटक पढिएको

protest against government in rajbiraj

राजविराज – निषेधाज्ञाका बेला नेकपा माओवादी केन्द्रले राजविराजमा विरोध जुलुस निकाल्दै प्रदर्शन गरेको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरे लगत्तै सप्तरीमा माओवादीले शनिबार अपरान्ह विरोध प्रदर्शन गरेको हो।

विभिन्न स्थानीय तहबाट आएका तीन दर्जन कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नारा लगाउँदै नगर परिक्रमा गरे। माओवादी सप्तरी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य अमर मण्डलको अगुवाइमा निस्केको जुलुस नगर परिक्रमा पश्चात सहिद दशन चोकमा आएर टुंगिएको छ।

मुखमा मास्क र छातीमा नाराअंकित प्लेकार्ड टाँसेका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोधका साथै कोरोना नियन्त्रण गर्न माग गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त नगरी दुराशयका आधारमा मन्त्रिपरिषदको सिफारिस बमोजिम संसद विघटनको निर्णयलाई सदर गरेको माओवादीको आरोप छ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरिएको भन्दै माओवादीको स्थायी कमिटीले ओलीको कदमविरुद्ध कानुनी र राजनीतिक लडाइँ थाल्ने निर्णय गरेको छ। ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिकका साथै निरंकुश स्वेच्छाचारी र प्रतिगमनकारी भएकाले सशक्त प्रतिवाद गर्ने माओवादी सप्तरीका जिल्ला सदस्य मुकेश यादवले बताए।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमोर्चा, नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षको संयुक्त बैठकले संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिँदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome