बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

कोरोना रोकथाम तथा संकट व्यवस्थानलाई थप प्रभावकारी बनाउन सिसीएमसीको नेतृत्वमा परिवर्तन

११ जेष्ठ, २०७८ ११:२१ मा प्रकाशित

737 पटक पढिएको

covid management team nepal

काठमाडौं – सरकारले कोरोना रोकथाम तथा संकट व्यवस्थानलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)को निर्देशक समिति तथा सचिवालय दुवै तर्फको नेतृत्व परिवर्तन गरेको छ।

नयाँ रणनीतिका साथ कोरोना रोकथाम तथा संकट व्यवस्थानलाई अघि बढाउन सिसीएमसीको कार्यकारी प्रमुखमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।सिसीएमसीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक समितिको समितिको कमान्ड आफैले लिएर स्वतन्‍त्र विज्ञलाई कार्यकारी नेतृत्व सुम्पेका हुन्।

यसअघि सिसीएमसको निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए। पोखरेललाई हटाएर निर्देशक समितिको नेतृत्व प्रधानमन्‍त्री ओलीले आफै लिएका हुन्। यो समितिमा अब उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ।

मन्त्रिपरिषदको बैठकले शर्मालाई यो महत्वपूर्ण जिम्मेबारी दिने निर्णय गरेको हो।यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए। शर्मा द्वन्द्व तथा संकट व्यवस्थापनका विज्ञ मानिन्छ। शर्माले राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमान्डरका रुपमा काम गरेका थिए। शर्माले नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखका रुपमा समेत काम गरेका छन्।

संकट व्यवस्थापनमा विदेशमा समेत लामो अनुभव सँगालेका शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी लडाकु समायोजन तथा व्यवस्थापन विशेष समितिको संयोजक भएर काम गरिसकेका थिए । सिसिएमसीको सदस्यहरुमा नेपाल सरकारको १२ औं तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजी, गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।

सिसीएमसीका नवनियुक्त प्रमुख शर्माले अब नयाँ रणनीतिका साथ काम अघि बढाउने बताए। उनले भने, ‘सरोकारवाला सबै निकाय र नागरिकसँग छलफल गरेर सहकार्य एवं समन्वयका साथ कोरोना रोकथाम तथा संकट व्यवस्थानलाई प्रभावकारी रुपमा अघि बढाइनेछ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome