आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कोरोना रोकथाममा सक्दो सहयोग गर्ने चीनको प्रतिवद्धता

१२ जेष्ठ, २०७८ १६:४६ मा प्रकाशित

302 पटक पढिएको

काठमाडौं – बुधबार नेपाल र चीनका राजनीतिक दलबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ नेकपा (एमाले)का महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस नेता नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरालगायत नेताले नेपालको तर्फबाट सम्बोधन गरे।

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका सीपीसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओलगायत नेता सहभागी थिए। बैठकमा बोल्दे चिनियाँ पक्षले महामारीमा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताए।
‘कोरोना महामारीको समयमा चीन सरकारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउनु खुसीको कुरा हो’, प्रचण्डले भने।

उनले हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गरे। ‘हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ’, उनले थपे। बैठकमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको सम्झनासमेत गरेका छन् ।

भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति धन्यवाद दिएका छन्। कोरोनाविरुद्धको खोपमा चीनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै पोखरेलले कोरोना नियन्त्रणमा नेपाललाई अझै सहयोग आवश्यक भएकोमा जोड दिए।

‘चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति धन्यवाद दिन चाहन्छौँ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको छ।’

नेपाली कांग्रेसका नेता नारायण खड्काले कोरोना महामारीका कारण स्वास्थ्य सामग्रीको अभावमा रहेको नेपाललाई चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। कोरोना नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्नेमा उनले जोड दिएका छन्। खड्काले नेपालले महामारीका कारण ठूलो क्षति बेहोर्नु परेको छ । अहिले पनि अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनु परेको कुरा उल्लेख गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादवले दुई देशबीच असल मित्रताको सम्बन्ध रहेको उल्लेख गर्दै महामारीको समयमा उपलब्ध गराएको खोपका लागि धन्यवाद दिए। उनले चीनले उपलब्ध गराएको खोप र स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ सहयोगप्रति धन्यवाद दिएका छन्। तिमल्सिनाले चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेको तीन वर्ष पुगिसकेको बताउँदै यसको कार्यान्वयन गर्नुपर्ने समय आइसकेको बताए। उनले बैठकमा महामारीकै बीच नेपालमा राष्ट्रिय गौरवका आयोजनाको काम जारी रहेको उल्लेख गरेका छन्।

नेमकिपाका अध्यक्ष बिजुक्छे र राप्रपा अध्यक्ष राणालेसमेत कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिँदै चीनले पाएको सफलताबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome