सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

बजेट भाषण ७८/७९ : वृद्ध भत्तामा हजार र कर्मचारीको तलबमा २ हजार वृद्धी

१५ जेष्ठ, २०७८ १८:४१ मा प्रकाशित

729 पटक पढिएको

budget 2078

काठमाडौं – कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलबमान दुई हजार रुपैयाँ बढ्ने बताएका हुन् ।

कोारोना महामारीको समयमा कर्मचारीको तलब नबढ्ने अनुमान गरिएको अवस्थामा पनि सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो ।

सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्री पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

सरकारले वृद्ध भत्ता पनि बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् ।

सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता चार हजार पुर्याएको हो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् ।

यसअघि वृद्धभत्ता तीन हजार रुपैयाँ वितरण हुँदै आएको थियो ।

पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नाममा २७ अर्ब ४७ करोड रकम विनियोजन भएको छ।

नेपाललाई आर्कषक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने योजना अनुसार यो रकम विनियोजन भएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुफिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनी गुम्बा र कागबेनीको पिण्डस्थान पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले जानकारी जानकारी दिए।

काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ।

दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने भएको छ।

तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवी भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ।

त्यस्तै, इलामको माइपोखरी, सुनसरीको बर्जुताल, कपिलवस्तुको जगदिशपुर ताल, पाल्पाको सत्यावती ताल, रुकुमको स्यार्पु ताल लगायतका महत्वपूर्ण तालको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ।

साहसिक पर्यटनको क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने भएको छ। प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गरिबी निवारण कोष खारेज

भ्रष्टाचारको अखडा बनेको गरिबी निवारण कोष खारेज भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै कोष खारेज गर्ने जानकारी दिएका हुन् ।

कोष खारेज भएपछि सरकारले गरिब परिचय पत्र बनाएर उनीहरुका लागि नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । यसका लागि बजेट विनियोजन भएको उनको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ। २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो।

थप एक सयलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्री विष्णु पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न १ अर्ब बजेट प्रस्तुत गरेका छन्।

३ महिनासम्म प्रशिक्षार्थी कामदारलाई अनुदान दिइने र २ वर्षसम्म कम्पनीले रोजगारी दिनुपर्ने बताइएको छ। स्नातक तह पास गरेकाले २५ लाखसम्म ५ प्रतिशत अनुदानमा सहुलियत ऋण पाउने छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ। श्रम अडिट गर्ने, श्रम कानुन पालना गर्न अर्थमन्त्री पौडेलले बताए। सामाजिक दुर्घटना बिमा निःशुल्क गर्ने बताइएको छ।

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ। आगामी आर्थिक वर्षमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome