बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

बजेटसँगै शेयर बजारमा उछाल : एकैदिन १७ अर्ब बढीको कारोबार

१६ जेष्ठ, २०७८ १७:२० मा प्रकाशित

573 पटक पढिएको

stock market nepal

काठमाडौं – सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि पहिलो दिन आइतबार खुलेको शेयर बजार सुरुदेखि नै उछाल आएको थियो। कारोबार अंक र नेप्से सूचक दुवैले नयाँ रेकर्ड कायम गरेका छन्। आइतबार १७ अर्ब बढीको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च कारोबार हो। नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो।

पुँजी बजारप्रति उदार अर्थमन्‍त्रीको छवि बनाएका विष्णु पौडेलको बजेटलाई लगानीकर्ताले राम्रैसँग स्वागत गरेका छन्। अर्थतन्‍त्रको एउटा बलियो हिस्साका रुपमा स्थापित भइसकेको पुँजी बजारलाई बजेटमा सम्बोधन गर्न कन्जुस्याइँ गरिएको गुनासो केही लगानीकर्ताबाट आए पनि त्यसले बजारलाई भने खासै फरक पारेन।बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।यो व्यवस्थाले बजारमा नकारात्मक असर पर्छ कि भन्‍ने अनुमान र आशंका गरिएको थियो। तर आइतबारको उछालले त्यसलाई गलब सावित गरेको छ।

बजार बुलिस रनमा निकै परिपक्क लयमा अघि बढेकोले अब सानातिना अप्ठ्यारा तथा चुनौतीले प्रभावित नहुने सेयर बजारका विज्ञहरू बताउँछन्। लगानीकर्ताहरूको आत्मविश्‍वास नै अहिले बजारलाई बुलिस लिकमा ड्राइभ गर्ने सबैभन्दा महत्वपूर्ण र शक्तिशाली उर्जा हो।राजनीतिक अन्योललाई समेत बेवास्ता गर्दै सेयर बजारमा पछिल्ला दिनम निरन्तर उछाल आएको छ। कारोबार रकम र भोलुममा पनि हरेक दिन जसो उत्साहजक वृद्धि देखिन्छ। एकैदिन १७ अर्बबढी कारोबार हुनु भनेको सेयर बजारप्रतिको व्यापक आकर्षणको स्पस्ट संकेत हो।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल लगानीकर्ताको दरो आत्मविश्‍वासका कारण बजारले निरन्तर नयाँ उचाइ चुम्‍न सफल भएको बताउँछन्। उनी भन्छन्, ‘कारोबारमा देखिएको उत्साहक अभूतपूर्व छ। यसले पनि लगानीकर्ताको मनोबल बढाएको छ।’

अन्योलपूर्ण राजनीतिबाहेक अहिले बजार घट्नुपर्ने कुनै कारण नरहेको विज्ञहरू बताउँछन्। कोरोनाको बढ्दो जोखिम तथा निरन्तरको राजनीतिक अस्थिरताका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएकोले लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्।जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आएको बेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोना जोखिमका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। यो पैसा अब सेयर बजार ओइरिने संभावना बढेको छ।

लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर अझै पनि खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ। बैंकिङको सेयर राम्ररी नबढ्दासम्म सेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन्।पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन।

बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताको आकर्षण अब यतातिर केन्द्रित हुने देखिन्छ। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो। अब एक दुई महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्‍न सकिन्छ। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ‘बुलिस रन’ मा अझ् अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome