शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदै

१६ जेष्ठ, २०७८ १७:२६ मा प्रकाशित

387 पटक पढिएको

lumbini province

काठमाडौं – राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान हुँदै छ । उप निर्वाचनमा दुईजनाको प्रतिस्पर्धामा रहेको छ ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपानिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सोमबार उपनिर्वाचन हुँदैछ ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ ।

प्रदेशसभा सदस्य ७९ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल २९६ जना मतदाताको नामावली स्वीकृत भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भए पनि मतदाताको नामावलीमा परेका छैनन् । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ९ जना मतदानमा सहभागी नहुने भएका हुन । ८७ प्रदेशसभा सदस्यबाट ७९ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन् । प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन ।
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ । स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ । प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ । कुल मतसंख्या सात हजार ६९८ छ ।

विपक्षीको गठबन्धन, एमालेको मत विभाजित हुने अवस्था तथा जसपाका चार सांसद मतदानबाट बञ्चित हुँदा पाण्डेले फराकिलो अन्तरले जित निकाल्ने आंकलन गरिएको छ । विपक्षी गठबन्धन विजयी हुने पहिलो आधार स्थानीय तहको मत देखिएको छ ।

स्थानीय तहमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई बढी मत आउने देखिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यस अनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६४ मतदाता छन् ।

लुम्बिनीमा माओवादी केन्द्रले स्थानीय तहमध्ये नगरपालिकामा ६ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख तथा गाउँपालिकामा १३ स्थानमा अध्यक्ष र १४ स्थानमा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रसँग स्थानीय तहमा कुल ४१ मतदाता छन ।

तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट लुम्बिनीमा उपप्रमुख १, अध्यक्ष ६, उपाध्यक्ष ४ गरी ११ जना विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा भएकाले ११ जनाको मत पनि पाण्डेको पक्षमा खस्ने आकलन छ । तत्कालीन नयाँ शक्तिले एक स्थानमा उपाध्यक्ष पदमा जितेको थियो । उक्त दल समाजवादी हुँदै जसपासँग एकीकरण गरेकाले उसको मत पनि विपक्षी गठबन्धनमै पर्नेछ ।

राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा अध्यक्ष २ र उपाध्यक्ष २ स्थानमा जितेको छ। जनमोर्चाले विपक्षी दलहरुसँगै गठबन्धन बनाएकाले उक्त दलका स्थानीय तहका ४ जनाको मत पनि पाण्डेलाई जाने देखिन्छ ।

यसरी कांग्रेसका ६६, माओवादी केन्द्रका ४१, जसपाका १२ र जनमोर्चाका ४ गरी स्थानीय तहमा विपक्षी गठबन्धनको १२३ मत छ । स्थानीय तहको मतको आधारमा पाण्डेले दुई हजार २१४ मत प्राप्त गर्नेछन ।

स्थानीय तहमा लुम्बिनीमा एमालेका ९० जना प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छन । प्रमुख १६, उपप्रमुख १७, अध्यक्ष २७ र उपाध्यक्ष ३० जना एमालेबाट विजयी भएका थिए। राप्रपाले प्रमुख १ र उपाध्यक्ष १ स्थानमा जितेको छ। त्यसअनुसार एमालेका उम्मेदवार खड्काको पक्षमा स्थानीय तहका मतदाता ९२ जना हुनेछन । स्थानीय तहबाट खड्कालाई एक हजार ६५६ प्राप्त हुनसक्छ । लुम्बिनीको स्थानीय तहमा स्वतन्त्र २ जनाले प्रमुख र एक जनाले अध्यक्षमा जित निकालेका थिए । स्वतन्त्र रुपमा विजयी भएकाहरुको मत कता खस्छ, एकिन छैन । एमाले विभाजितको अवस्थामा पुगेकाले उक्त दलबाट विजयी सबैले खड्कालाई मत दिने सम्भावना पनि न्यून छ ।

पाण्डेलाई प्रदेश सभाबाट पनि बढी मत आउने देखिएको छ । सभामुखसहित ४१ जना प्रदेश सभा सदस्यको मत पाण्डेको पोल्टामा पर्छ । त्यसअनुसार विपक्ष गठबन्धनका सांसदबाट पाण्डेले एक हजार ९६८ मत प्राप्त गर्नेछन । सत्तारुढ दलका प्रत्यासी खड्काले ३८ जनाको मत प्राप्त गर्नेछन । एमालेका सांसदहरु सबैको मत गणना गर्दा एक हजार ८२४ हुन्छ । माधव पक्षीय सांसद दुईजना प्रदेश सभामा रहेको भनिएको छ । उनीहरुको मत खड्कालाई नजान पनि सक्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome