शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

वीरगन्जमा निषेधाज्ञा फेरि १० दिनका लागि थप

१९ जेष्ठ, २०७८ १८:१७ मा प्रकाशित

370 पटक पढिएको

birgunj nepal

वीरगन्ज – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ २० गते बिहीबार सम्मका लागि जारी गरेको निषेधाज्ञा जेठ ३० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुँदै आएको कोरोनाको परिक्षणमा संक्रमितको संख्या कम हुँदै गएको छ । वैशाख दोस्रो सातातिर संक्रमण दर बढ्दै गएर ७५ प्रतिशतसम्म पुगेको थियो ।

तर वैशाख १६ देखि निषेधाज्ञा लगाइएपछि जेठ पहिलो सातादेखि यता भने निरन्तर कम हुँदै गएको संक्रमण दर अहिले १५ प्रतिशतमा झरेको छ । नारायणी अस्पतालको प्रयोगशालामा मङगलबार राति पनि १९२ जनाको स्वाब परीक्षण गर्दा २० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण दर कम हुँदै गएको भएपनि अझ कम गर्न जारी निषेधाज्ञा थप १० दिन अर्थात् जेठ ३० गते सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यसअघि पछिल्लो पटक जेठ १३ गतेबाट जेठ २० गते सम्मका लागि थपिएको निषेधाज्ञा अब जेठ ३० गते सम्मका लागि लम्ब्याइएको हो । पर्सा जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्नमा निषेधाज्ञा उपयोगी देखिएकाले डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप १० दिन अर्थात जेठ ३० गते सम्मका लागि थप्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

पछिल्लो २ साता यता संक्रमण दर कम देखिनु सुधारको संकेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । उनका अनुसार वीरगन्जका अस्पतालहरुमा पनि अहिले कोभिडका बिरामीको संख्या ६० प्रतिशतले घटेको छ । पर्सा जिल्लामा अहिले एक हजार बढी सक्रिय संक्रमित छन् ।

जारी निषेधाज्ञामा पनि विकास निर्माणका कामहरु नरोकिएको, उद्योगहरु संचालनमा कुनै रोक नलगाइएको र उपभोग्य वस्तुहरुको पनि सहज उपलब्ध हुने गरी व्यावस्था मिलाइएकाले संक्रमण दर अझ कम गर्न निषेधज्ञा जेठ ३० गते सम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome