बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

उपप्रधनमन्त्री महतोको अभिव्यक्तिको सर्वत्र विरोध : जनतासँग माफी माग्‍नुपर्ने माग

२३ जेष्ठ, २०७८ १६:३० मा प्रकाशित

439 पटक पढिएको

rajendra mahato

काठमाडौं – उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघ संगठनले आपत्ति जनाएका छन्। संविधान अनुसार शपथ लिएर संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै जसपाका वरिष्ठ नेता महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने बताएकोप्रति उनीहरुले आपत्ति जनाएका हुन्। १८ संघ/संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै महतोको मनाइप्रति आपत्ति जनाएका हुन्। उनीहरुले यो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न उप्रधानमन्त्री महतोसँग आग्रह गरेका छन्।

‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्ध रहेको हाम्रो छ। यो अभिव्यक्ति हाम्रो संबिधानको प्रस्तावना र संबिधानको धारा–३ विपरीत छ। संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।’

संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघका बलराम बाँस्कोटा, अखिल नेपाल महिला संघकी जयन्ती राई, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सुदेश पराजुली, नेपाल उत्पीडित जातीय मुक्ति समाजका गणेश बि.क, युवा संघ, नेपालका नरेशकुमार शाही, नेपाल खेलकुद महासंघका पुरुषोत्तम पौडेल, नेपाल मुस्लिम इत्तेहाद संगठनका ताज मोहम्मद मिया, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का विष्णु लम्सला, नेपाल भूमिहीन सुकुम्वासी संगठनका रामपृत पासवान, नेपाल उद्योग तथा व्यावसायी महासंघका लक्ष्मीदास मानन्धर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका परशुमेघी गुरुङ, पेसागत महासंघ, नेपालका विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका मिठाराम के.सी, प्रेस चौतारी नेपालका विश्वमणी सुवेदी, राष्ट्रिय जनसांस्कृतिक महासंघका कृपाराम धमला, मानव अधिकार एलायन्सकी उषा पोखरेल, लोकतान्त्रिक मधेसी संगठनका रामचन्द्र शाह र नेपाल इन्जिनियरिङ्ग पेशाकर्मी संघका नन्द बन्जाडेले हस्ताक्षर गरेका छन्।

महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न ओलीसँग नेपाल-खनाल समूहको माग

नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहले उपप्रधानमन्त्री उपेन्द्र महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।

नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उपप्रधानमन्त्री महतोको संविधान विरोधी अभिव्यक्तिको विषयमा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग माग गरेका हुन्।

नेपाल खनाल समूहले महतोको यो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित व्यवस्था विरोधी भएको दाबी गरेका छन्। संविधान विरोधी अभिव्यक्ति नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै प्रधानमन्त्रीलाई प्रष्ट पार्न उनीहरुले भनेका हुन्।

‘यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्तीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।’

माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द्र न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहोरा र प्रमेश हमालको नाम समेटिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome