शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

जोर्डनसँग नेपाल ३-० ले पराजित

२६ जेष्ठ, २०७८ ०८:०९ मा प्रकाशित

597 पटक पढिएको

nepal vs jordan 2021

काठमाडौं – नेपालले फिफा विश्वकप छनोट खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग फराकिलो हार बेहोरेको छ। अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो। जोर्डनको घरेलु मैदानमा भएको विश्वकप छनोटको पहिलो लेगको खेलमा पनि नेपाल ३–० गोलले पराजित भएको थियो।

कुवेतको राजधानी कुवेत सिटीमा सोमबार राति भएको खेलमा दुवै टोलीले सुरुवातदेखि नै आक्रामक खेल खेलेका थिए। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आक्रामक खेल खेल्न तीन स्ट्राइकर खेलाएका थिए। उनले यसअघि चाइनिज ताइपेईविरुद्ध सुरुवाती खेल खेलेको तीन खेलाडी परिवर्तन गरेका थिए। चाइनिज ताइपेईविरुद्ध सुरुवाती–११ मा रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठलाई बेन्चमा राख्दै फरवार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवासलाई मैदान उतारेका थिए।

तर, शारीरिक रुपमा बलियो जोर्डनले लगातार नेपालको पोस्ट्मा आक्रमण बुन्दा नेपाली टोली रक्षात्मक खेल खेल्न बाध्य भएको थियो। सुरुवाती केही आक्रमण विफल पारेको नेपालले २४औं मिनेटमा भने गोल खान पुगेको थियो। रोहित चन्दले मुसा अल तामरीलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। पेनाल्टीमा बाहा फैसलले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए। १–० गोलको अग्रता बनाएपछि पनि जोर्डनले लगातार पोस्ट् आक्रमण गरेको थियो। गोलरक्षक किरण चेम्जोङ बाधक बन्दा जोर्डनले पहिलो हाफमा अग्रता बढाउन भने सकेन।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुमै गोल खान पुगेको थियो। खेलको ४९औं मिनेटमा बाहा फैजलले फ्रिकिकमा गोल गर्दै जोर्डनलाई २–० अग्रता दिलाएका थिए। उनको लामो फ्रिकिकलाई गोलरक्षक किरणले नियाल्न पनि सकेनन्। जोर्डनले ६७औं मिनेटमा ३–० को अग्रता बनाएको थियो । याजन अबु अल अरबले हेड गोल गर्दै जोर्डनलाई अगाडि बढाएका थिए। पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन।

यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो। नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए। कोरोना महामारीका कारण यसअघि पटकपटक स्थगित हुँदै आएको विश्वकप छनोटको खेल न्युट्रल भेन्यु कुवेतमा खेलाइएको हो। नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलहरू कोरोना महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेलाएको हो।

विश्वकप छनोटमा नेपालले आठ खेलमध्ये सात खेल खेलिसकेको छ। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा समान २–० गोलले पराजित गरेको छ। कुवेतसँगको पहिलो खेलमा ७–० को हार खेपेको नेपाल दोस्रो खेलमा पनि १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० गोलले पराजित भएको थियो। नेपाल र अस्ट्रेलियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

अहिले समूह ‘बी’मा १५ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। १३ अंक जोडेको जोर्डन दोस्रो, १० अंक जोडेको कुवेत तेस्रो स्थानमा छ। नेपाल ६ अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ। जोर्डनसँगको हारसँगै विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ। तर, सन् २०२३ मा हुने एसियन कपमा सिधै छनोट हुने सम्भावना भने जीवितै छ। चौथो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एसियन कपमा सिधै छनोट खेल्ने छ भने अर्को चार टोलीले प्लेअफ खेल्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome