बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

विराटनगरमा उच्च प्रविधियुक्त मोडुलर आईसीयू सेवा सञ्चालनमा

२७ जेष्ठ, २०७८ १९:३२ मा प्रकाशित

695 पटक पढिएको

modular icu in biratnagar

विराटनगर – प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक उच्च प्रविधियुक्त मोडुलर आईसीयू सेवा सञ्चालनमा ल्याइएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बुधबारबाट सञ्चालन ल्याइएको सेवाको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन् ।

१४ बेडको मोडुलर आईसीयू सेवा सञ्चालनमा ल्याइएको अस्पतालका आईसीयू इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए । उनका अनुसार अत्याधुनिक मोडुलरबाहेक ११ बेडको न्युरो सर्जिकल आईसीयू सेवा पनि सुरु गरिएको छ ।

‘कम्प्युटराइज प्रणालीबाट घरैदेखि बिरामी हेर्नसक्ने अत्याधुनिक प्रविधियुक्त मोडुलर आईसीयू सेवा सञ्चालनमा ल्याइएको छ,’ डा. राजवंशीले भने, ‘यो आईसीयूले तापक्रम पनि आफैँ सन्तुलनमा राख्छ ।’ उनका अनुसार यसबाट अरुमा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

रोग निको भएका बिरामीलाई अरुबाट अलग्गै राख्नका लागि चार बेडको छुट्टै आईसीयू पनि सञ्चालन गरिएको उनको भनाइ छ । सबै मोडुलर आईसीयूमा सीसी क्यामेरा जडान गरिएको छ । त्यही क्यामेराको माध्यमबाट कम्प्युटरको प्रयोग गर्दै घरैदेखि आफन्तले बिरामीलाई हेर्नसक्ने डा. राजवंशीको भनाइ छ । उनका अनुसार यो आईसीयूमा कोरोना भाइरस महामारीका बेला संक्रमितको उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ । आफ्ना बिरामीलाई घरैबाट हेर्न सकिने भएकाले परिवारका सदस्य र आफन्तमा बिरामीबाट कोरोना सर्ने सम्भावना नरहने राजवंशीले बताए ।

उनका अनुसार नयाँ सञ्चालन गरिएकोसहित विराटनगर अस्पतालमा आईसीयू बेडको संख्या एक सय दुई पुगेको छ । अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले अत्याधुनिक सुविधासहितको आईसीयू प्रदेश १ मै पहिलो पटक सञ्चालनमा ल्याइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome