आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कांग्रेसले ओलीलाई मार्ने षडयन्त्र बनाएको हो त : बस्नेत

२९ जेष्ठ, २०७८ १६:३५ मा प्रकाशित

693 पटक पढिएको

mahesh basnet

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि सत्ता पक्षका सांसद र नेताहरुले उनलाई हदैसम्मको कारवाहीको माग गरेका हुन्। ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको वैद्य अभिव्यक्तिलाई लिएर एमाले तरङ्गित बनेको छ।

पूर्वमन्त्री बस्नेतले उनलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन्। जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्ने भएकाले अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्ने उनको भनाई छ।

‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ।’ बस्नेतले भनेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्दछ।’

आफ्नो नेताको रक्षाको लागि एमालेका कार्यकर्ता जे पनि गर्न तयार रहेको उनले बताएका छन्। बस्नेतले भनेका छन्,‘मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन्।’

कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ : रिमाल

यसैगरी प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत गरेको जनाएका छन्। उनले सामाजिक संजालमा प्रदेससभा सदस्य वैद्यको भनाई ‘टंग स्लिप’नभई हिंस्रक योजनाको संकेत भएकाले कांग्रेस र विपक्षी गठबन्धनले आफ्नो योजना थप स्पष्ट पार्न आग्रह गरेका छन्।

रिमालले भनेका छन्,‘२०४७ पछि नेपाली काङ्ग्रेसको लोकतन्त्र देखेको मात्रै हैन भोगिएकै हो। सत्ताको लागि कॉंग्रेस कहॉ-कहॉ, के-के र कस्ता- कस्ता ताना बाना बुन्दै छ भन्ने क्रमश: खुल्दैछ।’

प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र : रिजाल

एमालेका नेता विष्णु रिजालले मान्छे मार्छु भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्ने बताएका छन्। आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र नहुने बताउँदै उनले प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ? भन्दै प्रश्न गरेका छन्।

‘कांग्रेस सांसद नरोत्तम बैद्यले बागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री केपी ओलीलाई मार्नका लागि अरुलाई पनि उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको हुने घोषणा गरेछन्। ’रिजालले भनेका छन्,‘मान्छे मार्छु भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ। प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ? आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन। कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !’

सांसद् वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome