बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

पर्सामा थप ७ दिन निषेधाज्ञा

३० जेष्ठ, २०७८ २०:०४ मा प्रकाशित

534 पटक पढिएको

birgunj nepal

वीरगन्ज – पर्सामा कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएपछि निषेधाज्ञा खुकुलो पारेर अषाढ ६ गते सम्मका लागि थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले पर्सामा वैशाख १६ गते देखि जारी निषेधज्ञा केही खुकुलो पारेर अषाढ ६ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक जेठ १९ मा बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा जेठ ३० गते आइतबार राति १२ बजे सम्मका लागि थपेको थियो ।

त्यसैले आइतवार दिउसो बसेको डिसिसिएमसीको बैठकले जेठ ३१ गते सोमबार देखि थप ७ दिन अर्थात अषाढ ६ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।
संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा उपयोगी देखिएको र संक्रमण दर पनि घट्दै गएकाले केहि परिमार्जन सहित अषाढ ६ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

पर्सामा जारी निषेधाज्ञामा ,यसअघि दैनिक उपभोग्य खाद्यान्न वस्तु (किराना) का पसलहरु मात्रै बिहान १० बजे सम्म मात्र खोल्न दिइएको थियो । तर सोमबार देखि थपिएको निषेधाज्ञामा भने खाद्यान्नका साथै कृषि र भेटेनरी , निर्माण सामग्रीका पसल र वर्कसप मध्यान्ह १२ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ घिमिरेले बताए ।

दोस्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्ला ,कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुदै गएको छ । वैशाख अन्तिम साता देखि निरन्तर घट्दै गएको संक्रमण दर , जेठ अन्तिम सातामा १० प्रतिशतमा झरेको छ ।

जेठ दोस्रो साता ३१ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर निरन्तर घटेर अहिले १० प्रतिशतमा झरेको हो । दोस्रो लहर सुरु भएपछि वीरगन्जमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर ह्वात्तै बढेर ७० प्रतिशत भन्दा माथि पुगेको थियो ।

वैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रमितको संख्या घट्दै गएको हो । पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक हप्ता यता गरिएको पीसीआर परीक्षणमा संक्रमण दर औसतमा १० प्रतिशत रहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

जेठ २२ देखि जेठ २८ गते सम्म ७ दिनमा ६९३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा मात्र संक्रमण भेटिएको छ । जेठ २८ गते शुक्रबार पनि ९६ जनाको परिक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए ।

जेठ २७ मा पनि ५० जनाको परिक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । जेड २९ गते शनिवार भने थोरै मात्र स्वाब संकलन भएकाले परिक्षण गर्न नसकिएको डाक्टर सिंहले बताए ।

पर्सामा अहिले नयाँ थपिने संक्रमितको संख्या निरन्तर कम हुदै गएको र निको हुनेको संख्या पनि बढ्दै गएकाले अस्पताल र आइशोलेसन सेन्टरमा पनि शैयया खाली हुदै गएका छन् ।

यसका साथै सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । पर्सामा अहिले सक्रिय संक्रमित १ सय १० जना मात्र रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए ।

ती मध्ये अस्पताल र आइशोलेसन सेन्टरमा गरि ४५ जना मात्र संक्रमित उपचाररत छन् । बाँकी ६५ जना भने होम आइसोलेसनमा छन् । पर्सामा कोरोना संक्रमतिको उपचारका लागि अस्पताल र आइसोलेसन सेन्टरमा गरि ७ सय २५ शैयाको व्यवस्थापन गरिएको छ ।

तर अहिले ती सबैमा गरि ४५ जना मात्र संक्रमित भर्ना रहेको र बाँकी ६८० शैया खाली रहेको श्रीवास्तवले जानकारी दिए । जेठ दोस्रो सातामा सब्रिय संक्रमित १ हजार ६ सय र तेस्रो सातामा सक्रिय संक्रमित ६ सय १८ जना थिए ।

यहाँका चिकित्सकले अस्पताल र आइसोलेसन सेन्टरमा गम्भीर खालका बिरामीको संख्या घट्दै गएपनि संक्रमणको जोखिम भने नटरेकोले अझै पनि सावधानी अपनाउन जरुरी नै भएको बताएका छन् ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले कोरोना संक्रमण दर घट्दै गएको बताए । तर जोखिम टरी नसकेकाले सावधानी अपनाउन आवश्यक नै रहेको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome