बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

भ्रष्टाचार विरोधी डाक्टरलाई कारवाहीको धम्की आएपछी वीपी प्रतिष्ठानका चिकित्सक आन्दोलित

१ असार, २०७८ १६:५७ मा प्रकाशित

292 पटक पढिएको

bp doctors in protest

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमितताबारे छानविन गर्न माग गरेको भन्दै यहाँ कार्यरत एक डाक्टरलाई जागिरबाट निस्काशन गर्ने धम्की आएपछी प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन् ।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्ट्रचारको छानविन गरी दोषि उपर कारवाही गर्न माग गरेका थिए ।

पोखरेलले भ्रष्टाचारको छानविन गर्न माग गरेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धिका सबै कागजपत्र नियन्त्रणमा लिएको थियो ।

अख्तियारले प्रतिष्ठानमा छापा मारेको भोलिपल्ट सोमबार प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेललाई जागिरबाट निस्कासन गर्ने धम्की दिएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेका छन् ।

आर्थिक अनियमितताले धरासायी बनेको प्रतिष्ठान बचाउन थालिएको अभियानलाई हस्तक्षेप गरी डाक्टरलाई जागिरबाट निस्काशन गर्न धम्की दिएको भन्दै प्रतिष्ठानका चिकित्सक मंगलबारदेखि आन्दोलित भएका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषिलाई कडा कारवाही गर्न र प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई बर्खास्ती गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर, जुनियर डाक्टर र विद्यार्थीले उपकुलपति गिरीको कार्यकक्षमा धर्ना दिएका छन् । आन्दोलनमा उत्रिएका डाक्टरहरुले भ्रष्टाचारको विरोध गर्दा उपकुलपति गिरीबाट स्पष्टिकरण तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठान व्यवस्थापनविरुद्ध उत्रिएका फ्यागल्टी वेल्फेयर सोसाइटीका महासचिव सर्यप्रसाद रिमालले डा. पोखरेललाई सोधिएको स्पष्टिकरण चौविस घण्टाभित्र फिर्ता लिएर उपकुलपतिले सार्वजनिक माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले विभिन्न पत्रपत्रिकामा प्रतिष्ठानमा आर्थिक अनियमितता भएका समाचार प्रकासित भइरहेको भन्दै भ्रष्टाचार गरिएको विषयमा प्रतिष्ठानका पदाधिकारीहरुले जवाफ दिनुपर्ने बताए ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले प्रतिष्ठान सुधारको माग गर्ने चिकित्सकलाई स्पष्टिकरण सोधिनु अत्यन्तै गलत भएको बताए । उनले प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको विषयमा उच्च स्थरिय छानविन समिति गठन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome