बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

वीपी प्रतिष्ठानमा मृत्यु भएका सङ्क्रमितको श्रीमतीको रिपोर्ट पनि पोजिटिभ

१५ श्रावण, २०७७ १७:१२ मा प्रकाशित

392 पटक पढिएको

corona positive

विराटनगर – कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका सीमावर्ती मोरङको सुनवर्षी नगरपालिका-८ का ४५ वर्षीय पुरुषकी पत्नीको रिपोर्ट पनि पोजिटिभ आएको छ ।

स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणपछि बिहीबार पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । उनकाअनुसार संक्रमित महिलालाई कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

डा. दासकाअनुसार बिरामी श्रीमानलाई लिएर सोमबार ती महिला उपचारका लागि विराटनगर आएकी थिइन् । कोरोनासँग मिल्ने लक्षण देखिएपछि पुरुषको तत्कालै स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो ।

‘पोजिटिभ रिपोर्ट आउनसाथ श्रीमानलाई कोभिड अस्पताल भर्ना गरेर तत्काल श्रीमतीको पनि परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो,’ दासले भने, ‘कोरोनाकै कारण बुधबार श्रीमानको मृत्यु भइएपछि भोलिपल्ट श्रीमतीको पनि नतिजा पोजिटिभ आयो ।’

यसैबीच पुरुषको कोरोनाले मृत्यु भएसँगै सुनवर्षी-८ बिहीबारदेखि तीन दिनका लागि ‘सिल’ गरिएको छ । थप उपचारका लागि पुर्‍याएपछि बुधबार दिउँसो लगभग ४ :४५ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ती पुरुषको मृत्यु भएको थियो ।

सुरुमा विराटनगरकै कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएका उनलाई स्वास्थ्यमा समस्या बढ्दै गएपछि थप उपचारका लागि धरान लगिएको थियो । संक्रमितको मृत्यु भएपछि बुधरबार राती नै सरोकारवालाबीच समन्वय गर्दै सर्वपक्षीय बैठक बसेर वडा सिल गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

नगरका जनस्वास्थ्य प्रमुख किशोरकुमार मण्डलका अनुसार मृतकका आफन्त, परिवारका सदस्यसहित उनलाई अस्पतालसम्म पुर्‍याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर ‘कन्ट्रयाक ट्रेसिङ’ गर्ने तयारी भइरहेको छ । सुनवर्षी -८ सिक्टीका ती पुरुषको मृत्यु भएसँगै उनको घर वरपरका र उनीसँग सम्पर्कमा रहेकाहरु मध्ये ४८ जनाको पीसीआर परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी रहेको मण्डलले बताए ।

सुनवर्षी-८ सिक्टी भारतसँग सीमा जोडिएको स्थान हो । नगरपालिकाकाअनुसार मृतक पुरुष लकडाउनको तीन सातापछि भारतबाट घर आएका थिए । घर आएपछि दुई सातासम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

नगरका जनस्वास्थ्य प्रमुख मण्डलकाअनुसार क्वारेन्टाइनबाट घर गएपछि उनी फेरि भारततर्फ नै गएको खुलेको छ । क्वारेन्टाइनमा बसिसकेपछि ती पुरुष दोस्रो पटक कहिले भारत गए र कहिले फर्किए भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ । दोस्रो पटक भारत गएका उनी उतैबाट संक्रमित भएर आएको हुन सक्ने नगरपालिकाको अनुमान छ ।

मण्डलले भारतबाट फर्किएपछि ती पुरुष गएका ठाउँको पहिचान गर्दै को-कोसँग सम्पर्कमा रहने भन्ने बारेमा खोजी थालिएको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome