शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मनाङमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित

२ असार, २०७८ १६:५८ मा प्रकाशित

644 पटक पढिएको

flood in manang

बेंसीसहर – मनाङ सदरमुकाम चामेमा बाढी पहिरोका कारण ३ सय परिवार विस्थापित भएका छन् । चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्र विस्थापित भएको मनाङका प्रजिअ विष्णु लामिछानेले बताए ।

‘तीनसय परिवार कारागारको नवनिर्मित भवनमा आश्रय लिएर बसेका छन्,’ प्रजिअ लामिछानेले भने,‘चामे, धारापानीमा बाढीले कटान गरेको छ, ताल गाउँको बस्ती पुरै डुबानमा छ ।’

बाढीले मनाङको तल्लो भेग नासों गाउँपालिकाको धारापानी क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । बुधबार बिहान आएको बाढीले पुल र भवनहरू बगाएको प्रशासनले जनाएको छ ।

प्रजिअ लामिछानेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको छ । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् ।

प्रजिअ लामिछानेले बाढीपछि प्राइम कमर्सियल बैंकमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताए । ती कर्मचारीको खोजि भइरहेको उनले बताए ।

मनाङको ङावलमा पहिरोले मस्र्याङ्दी नदी थुनिएको छ । बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको प्रजिअ लामिछानेले जानकारी दिए । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको छ । थुनिएको नदी एकै पटक फुट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल, चामे बजार र ताल बजारलाई झन् ठूलो क्षति पुग्ने उनले बताए ।

केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बाढीले बजारका ६ घर बगाएको थियो । चामेका अन्य घर समेत डुबानमा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएका छन्। पानी परिरहेकाले अहिले पनि अवस्था उत्तिकै खतरापूर्ण रहेको प्रजिअ लामिछानेले बताए ।

‘पानी परिरहेको छ, ‘उनले भने, ‘बाढी र पहिरोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन ।’

चामे र तालगाउँका बाढी पहिरो पीडितलाई राहत र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाल आउन नसकेको उनले बताए । उनले भने, ‘विस्थापित परिवारका लागी काठमाडौंबाट राहत ल्याउँदै छौं, खराब मौसमका कारण हेलिकप्टर आउन सकेको छैन् ।’

चामेका करिब ६० घर बाढी र डुबानको समस्यामा परेको उनले बताए । मस्र्याङ्दी नदी उर्लिँदा डुबानमा परेको मनाङको प्रवेशद्वार तालगाउँ अहिले पनि जोखिममै रहेको छ । मंगलबार बिहानैदेखि डुबानमा परेको उक्त गाउँ सञ्चारविहीन बन्न पुगेको छ । तालगाउँमा रहेका ४८ घरधुरी सबै डुबानमा परेका छन् ।

तालमा उद्धारका लागि चामेबाट नेपाली सेना, प्रहरी लगायतका टोली जान सक्ने अवस्था नरहेको उनले बताए । चामेबाट ताल गाउँ जाने बाटोका पुलहरू बगेका छन् भने पहिरोले बाटो अवरूद्ध छ । मौसममा सुधार नआउँदा ताल गाउँमा हेलिकप्ट समेत जान नसक्ने अवस्था रहेको उनले बताए ।

मनाङमा निरन्तर परेको पानीका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरू ढलेका छन् भने चामे र तिमाङको लघु जलविद्युत आयोजना समेत बगाइदिएको छ । बिजुली नहुँदा सञ्चारमा समेत बाधा पुगेको छ ।

मनाङ प्रहरी प्रमुख डीएसपी सुवास खड्काले बाढीले धारापानी बजार नै जोखिममा परेको बताए । ‘धारापानीमा बिजुली छैन । टेलिफोनले काम गरेको छैन् । बल्लबल्ल साथीहरू सम्पर्कमा आएर जानकारी गराउनुभयो,’ उनले भने । स्थानीयका अनुसार थोंचे गाउँको स्वास्थ्य चौकी पनि बाढीले कटान गरेको छ ।

बाढीले विद्युतीय संरचना बगाउँदा मनाङको सबैतिर सम्पर्कविच्छेद भइरहेको छ । स्थानीयको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सदरमुकाम चामेबाट धारापानीतर्फ गएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome