सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

म्याग्दीमा बाढी पहिरोले विद्यृतगृहसहित ९ घरमा क्षति

३ असार, २०७८ ०७:५३ मा प्रकाशित

609 पटक पढिएको

flood in myagdi

बेनी – म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बाढी पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृह सहित नौ वटा घर बगाएको छ। रुमका विभिन्न ठाउँमा करिब २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन्।

खहरेखोलामा रहेको २२ किलोवाट क्षमताको पात्ले खहरेखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर विकले जानकारी दिए।

‘विद्युतगृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पुर्‍याएको छ,’ उनले भने ‘परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत सुबिधाबाट बञ्चित भएका छन्।’

पहिरोपछि आएको बाढीले पात्लेखहरे लघु जलविद्युत परियोजनाका प्राविधिक बस्ने टेकबहादुर बिकको दुई तले घर बगाएको छ। बेलीमा छेमबहादुर बिकको दुई तले घर, एक वटा गोरु सहित गोठ र रनबहादुर दर्जीको घर पहिरोले पुरिएको छ।

सोही वडाको खवाङमा मुक्ति बुढाथोकी, लक्ष्मी बुढाथोकी, रिमानसिंह पुन, हुत्नेपाखामा भुमीलाल बिकको घर पहिरोले पुरेको छ। कलातमा रैमति बिकको एक तले घर पुरेको छ। तल्लो खवाङको पाखो भत्किएर बिलबाङमा करिब २० घरलाई जोखिम बनाएको छ।

बेली र जेमका बासिन्दाले बिजुली बाल्दै आएको ११ किलोवाट क्षमताको छेरवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह पनि उच्च जोखिममा परेको छ। खवाङमा भुपेन्द्र नेपालीले निरन्तरको बर्षा, बाढी र पहिरोले जनजिवन अस्तब्यत भएको बताए।

वडा कार्यालय पछाडीको पहिरोले लुक्सीर, बेली, खवाङ र हुत्नेपाखा लगायतका ठाउँमा करिब २५ घरपरिवार बिस्थापित भएका छन्। उनिहरुलाई सुरक्षित ठाउँमा रहेका आफन्तकोमा आश्रय लिएर बसेका वडा अध्यक्ष नरबहादुर पुनले बताए।

सिंगा तातोपानीको मसारमा कटान

म्याग्दी नदीमा आएको बाढीले कटान गर्दा बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार र पुलको मुखका १८ घरपरिवार विस्थापित भएका छन्।

म्याग्दी नदीको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि ८९ घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजारसमेत जोखिममा परेको छ। बेनी–दरवाङ सडकभन्दा माथि सक्रिय भएको पहिरोले तातोपानी कुण्ड माथिका १० घरलाई जोखिम बनाएको छ।

म्याग्दी नदीले कटान गरेर जोखिममा रहेका मसार र पखेर जोड्ने पुलको मुखका १८ घरपरिवारलाई सरस्वती आधारभूत बिद्यालय र बजारमा रहेका सुरक्षित घरमा सारिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए।‘पुलको मुख र मसारको तल्लो भागका घरमा गएर बस्नै नमिल्ने भएको छ। रुद्रबहादुर अर्मजाको एक वटा घर भत्किएको छ,’ उनले भने ‘तटबन्ध भत्काएर खेत बगाउदै नदीले घरसम्म आइपुगेको छ।’ म्याग्दी नदी किनारको खेलमैदानतर्फबाट कटान सुरु गरेकाले तटबन्ध नभएको उपल्लो बजार जोखिममा परेको हो।

एक सय बढी परिवार विस्थापित

म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित एक सय भन्दा बढी परिवार विस्थापित भएका छन्। नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको विवरणमा समावेश नभएका सहित जिल्लाभर विस्थापित हुनेको परिवार संख्या एक सयभन्दा बढी छ। प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताए।

प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन्। मंगला गाउँपालिकाको हाँडेभिरका १ घरका पाँच जना, मालिका गाउँपालिकाको १, ४ र ६ नम्बर वडाको २० घरका ८५ जना, अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाका १० घरका ४२ जना र रघुगंगा गाउँपालिकाको २ र ४ नम्बर वडाको ८ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

यसैगरी धवलागिरी गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ। यसैगरी रघुगंगा गाउँपालिकाको ८ नम्बर वडाका अध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएका र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगंगा नदीको कटानको जोखिममा परेको बताए।

कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणका लागि संगमचोक र कालीपुलस्थित किनारमा निर्माण भएको तटबन्ध बगाएर कटान गर्न थालेको छ। करिब तीस मिटर तटबन्ध बगाएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ। पहिरोले पाइपलाइनमा क्षति पुर्‍याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ। बुधबार साँझदेखि म्याग्दीमा विद्युत अवरुद्ध भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome