शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

डि ब्रुएनाको उत्कृष्ट प्रदर्शनसँगै बेल्जियमको लगातार दोस्रो जित

४ असार, २०७८ ०७:५९ मा प्रकाशित

493 पटक पढिएको

kevin de bruyne

काठमाडौं – केभिन डि ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

समूह बी मा लगातार दोस्रो जितपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि नै इटली अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

डेनमार्कको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा डि ब्रुएनाले दोस्रो हाफमा एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरे । डि ब्रुएना दोस्रो हाफमा ड्राई मर्टेन्सको स्थानमा मैदान प्रवेश गरेपछि बेल्जियमले लय लिएको थियो ।

त्यसअघि खेलको दोस्रो मिनेटमै युसुफ पाउलसेनले गोल गर्दै घरेलु टोली डेनमार्कलाई अग्रता दिलाएका थिए । पिएरे एमिल होजवर्गको पासमा पाउलसेनले गोल गरेका थिए ।

पहिलो हाफमा डेनमार्कले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा बेल्जियमले पुनरागमन गर्दै गोल फर्कायो ।

५४औं मिनेटमा थोर्गन हाजार्डले केभिन डि ब्रुएनाको पासमा बेल्जियमको लागि बराबरी गोल फर्काए । चोटका कारण पहिलो खेल गुमाएका डि ब्रुएना डेनमार्कविरुद्ध दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका थिए ।

६०औं मिनेटमा कप्तान एडेन हाजार्ड र एक्सल विटमल मैदान प्रवेश गरेपछि बेल्जियमल झन् बलियो बन्यो । हाजार्ड, रोमेलु लुकाकु र डि ब्रुएनाको सहकार्यमा दोस्रो गोल भयो । ७१औं मिनेटमा एडेन हाजार्डको पासमा डि ब्रुएनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए।

८७ मार्टिन ब्रेथवेइटको हेडर क्रस बारमा लागेर बाहिरिँदा डेनमार्कले बराबरी गर्ने अवसर गुमाएको थियो । डेनमार्का यानसेनले ९०औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

लगातार दोस्रो जितपछि बेल्जियमले समूह बी मा २ खेलबाट ६ अंक जोडेको छ । बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने लगातार दोस्रो हारपछि अंकविहीन हुँदै पुछारमा छ ।

अब डेनमार्कले रुससँग अन्तिम खेल खेल्न बाँकी छ । रुस र फिनल्याण्डको २ खेलबाट समान ३ अंक छ।

नेदरल्याण्ड्स युरोकपको अन्तिम १६ मा

नेदरल्याण्ड्स युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गर्ने तेस्रो टिम बनेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको डच टोली नकआउट राउण्डमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान योहान क्रप एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए र डेन्जेल डमफ्राइसले गोल गरे ।

खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अष्ट्रियाका कप्तान डेभिलअलावाले पेनाल्टी एरियामा डमफ्राइसलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पाएको पेनाल्टीमा डिपाएले गोल गरे ।

दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले एक गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि नेदरल्यण्ड्सले समूह सी मा ६ अंक जोडेको छ र एक खेल अगावै नकआउटमा स्थान बनाएको छ । नेदरल्याण्ड्सले एक खेल खेल्न बाँकी भए पनि समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले पराजित गरेको थियो । नेदरल्याण्ड्स सन् २००८ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो । सन् १९८८ को च्याम्पियन नेदरल्याण्ड्स २००० र २००४ मा सेमिफाइनलसम्म पुगेको थियो ।

उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई पराजित गरेको अष्ट्रियाको यो पहिलो हार हो । अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनिया र युक्रेनले अष्ट्रियासँग खेल्नेछ । युक्रेन र अष्ट्रियाबीचको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि खेल बराबरी भएमा गोलअन्तर हेरिनेछ ।

६ समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा प्रवेश गर्ने भएकोले समूहमा तेस्रो हुने टिमको पनि सम्भावना कायम रहनेछ ।

एकै खेलमा दुई पेनाल्टी बचाउ: युक्रेन २-१ नर्थ मेसेडोनियाल

युरोकप फुटबल अन्तर्गत दुई पेनाल्टी बचाउ भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २-१ ले पराजित गरेको छ । १६ औं संस्करणको युरोकपमा युक्रेनको यो पहिलो जित हो भने पहिलो पटक युरोकप खेलेको नर्थ मेसेडोनियाले दोस्रो खेल हारेको छ

रोमानियाको बुखारेस्टस्थित नेसनल एरेनामा बिहीबार भएको खेलमा दुवै टिमले पेनाल्टी पाएका थिए । तर दुवै टिमका खेलाडी पेनाल्टीमा गोल गर्न चुके ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए । एलिओस्कीले पेनाल्टीमा गोल गर्न नसकेपनि रिबाउण्ड बलमा गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए भने भने ३४ औं मिनेटमा यारेमचुकले गोल गरेपछि युक्रेनले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

त्यसपछि ५७ औं मिनेटमा नर्थ मेसेडोनियाका एलिओस्कीले गोल गरे । सुरुमा उनको पेनाल्टी प्रहार युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर जर्जले पूर्ण रुपमा बचाउन नसकेपछि त्यसकै रिबाउन्डमा उनले गोल गेर ।

यस्तै ८४ औं मिनेटमा युक्रेनले भिएआरको सहयोगमा पेनाल्टी पायो । तर रुस्लान मालिनोभ्सकीले पेनाल्टी प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

पहिलो जितपछि समूह सी मा युक्रेनले २ खेलबाट ३ अंक जोडेको छ । युक्रेन यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

नर्थ म्यासेडोनियाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome