शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सप्तरीमा बाख्रा चराउन गएकी बालिकाको घाँटी काटेर हत्या

६ असार, २०७८ १६:५५ मा प्रकाशित

674 पटक पढिएको

dead body

राजविराज – सप्तरीमा बाख्रा चराउन गएकी एक बालिकाको हत्या भएको छ।

डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारीको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयवासीले जानकारी दिएका छन्। काटेको स्थानबाट दुई मिटर माथि घिसारेर लगेको र शव घोप्टो परेको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले बताए। हत्यामा प्रयोग भएको हँसिया बालिकाको दुई खुट्टाको बीचमा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन र घाँस काटन गएकी बालिकाको घाँटी काटेर हत्या गरिएको अवस्थामा फेला परेपछि परिवारका सदस्यहरु अचेत भएका छन्। हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा अपरिचित व्यक्तिले बालिकाको विभत्स हत्या गरेपछि गाउँलेहरु समेत भयभित भएका छन्।

गाउँलेहरुका अनुसार सामान्य पानी पर्न थालेपछि बाख्रा चराउन सँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले घर पठाइन्। शिवानी भने हटेल पुवरिया टोलस्थित उँचो स्थानमा रहेको फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन्।

आसपासका खेतमा धान रोप्ने, कोदाले खन्ने र हलो जोत्नेहरु काम गरिरहेका थिए। तर घटनाबारे कसैले केही थाहा नपाएको र शिवानीकी बहिनीले समेत केही बताउन नसकेको एसपी धमलाले बताए।

घटनापछि प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन्। अनुसन्धानलाई सघाउन संघीय प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी उपरिक्षक धमलाले बताए।

शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। बालिकाको हत्या आन्तरिक कलहका कारण हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। एसपी धमलाले घटनाको गहिरो अनुसन्धान भइरहेको जानकारी दिदै २/४ दिनभित्रै अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome