आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

उपत्यकामा थप एक साता निषेधाज्ञा : बारको आधारमा पसल खुल्ने, सवारीमा जोरबिजोर

६ असार, २०७८ १९:२४ मा प्रकाशित

959 पटक पढिएको

empty street

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको हो । वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञाले निरन्तरता पाएको हो ।

पछिल्लो एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ।

निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ। असार ८ गतेदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल खुल्नेछन्। त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ।

बारको आधारमा बिहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न पाइने छ। तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खुल्नेछन्।

यसअघिको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायम रहनेछ। थप भएको निषेधाज्ञा असार ८ गतेदेखि कार्यान्वयन हुनेछ।

त्यसैगरी काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा आधारमा निजी सवारी साधन चल्ने भएका छन् । असार ८ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको हो ।

निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् ।

सबै सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वाास्थ्यकर्मी, कृषि, मल, बिउविजन, पशु चिकित्सकलगायत अत्यावश्यक सवारी साधन निर्वाध रुपमा रुपमा सञ्चालन हुनेछन् ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन् ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पासको आधारमा आवतजावत गर्ने र सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका सञ्चारकर्मीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सक्नेछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome