शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सप्तरीमा घाँटी काटेर बालिकाको हत्या : आरोपित पक्राउ

७ असार, २०७८ १७:५६ मा प्रकाशित

627 पटक पढिएको

arrested illustration

राजविराज – गोठाला गएकी एक बालिकासँग यौन दुव्र्यवहार गरेपछि हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका यादवको वयान लगत्तै सोमबार प्रहरीले सोही ठाउँका उनका साथी राजु यादवलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासत कक्षमा राखेर गहिरो अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

गत शुक्रबार हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा हटेलका रामउदगार यादवकी छोरी ९ वर्षीया शिवानीकुमारीको शव फेला परेको थियो । हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा गञ्जी र कट्टु लगाएकी बालिकाको घाँटी काटिएको शव घोप्टो परेको अवस्थामा फेला परेको स्थानीयवासीले बताए । हत्यामा प्रयोग भएको हँसिया बालिकाको दुई खुट्टाको बीचमा गाडिएको र हत्या गरेको स्थानबाट शवलाई दुई मिटर माथि घिसारेर लगेको चिन्ह देखिएको प्रत्यक्षदर्शीले बताए ।

मृतक परिवारका सदस्यका अनुसार बाख्रा चराउन र घाँस काटनसँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले सिमसिमे पानी पर्न थालेपछि घर पठाइन् । उनकी बहिनीले बताए अनुसार शिवानी भने फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन्।

अनुसन्धानका क्रममा बालिका पछ्याइरहेका रोहितले फूलबारीमा नियन्त्रणमा लिई लछारपछार पारेको र यौन दुव्र्यवहार गरेको देखिएको छ । आरोपितले समेत बलात्कार गरेको तर विर्य स्खलन बाहिर भएको बताएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे घरपरिवारका सदस्यलाई भनिदिने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । अनुसन्धानलाई सघाउन संघीय प्रहरी कार्यालय जनकपुरबाट प्रहरी टोली र तालिमप्राप्त कुकुर समेत आएको थियो ।

तालिम प्राप्त कुकुर हत्या आरोपितलाई पछ्याउँदै घटनास्थलदेखि २ किलोमिटर पूर्व रहेको खडक खोला र पाँची खोलाको मिलनमा रहेको पाँची पुलसम्म पुगेको थियो । सम्भवत खडक खोला तरेर वा नुहाएर अभियुक्त पारी गएकाले कुकुर थप अगाडि बढन नसकेको अनुमान गरिएको छ ।

उक्त टोलमा दशकौदेखि गम्भीर खाले धेरै घटना भइरहे पनि प्रहरीसम्म नपुग्ने गरेको र गाउँमै मिलाउने गरेको स्थानीयवासी बताउँछन् । दिउँसै भएको शिवानीको हत्याको घटनास्थल आसपासका खेतमा धान रोप्ने, कोदालो खन्ने र हलो जोत्नेहरु काम गरिरहे पनि कसैले केही थाहा नपाएको बताउँदै आएका छन् । यौन दुव्र्यवहार पछि गाउँमा भनिदिने डरले हत्या गर्ने मुख्य आरोपित रोहित भएको र सहयोगीहरु अरु पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानलाई तीब्र बनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome