बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

अझै खुलेन मर्स्याङ्दी, तटीय क्षेत्रमा जोखिम कायमै

७ असार, २०७८ १८:०० मा प्रकाशित

486 पटक पढिएको

marsyangdi blocked by flood

बेंसीसहर – मनाङको चामेमा शनिबारदेखि आंशिक रुपमा थुनिएर ताल बनेको मर्स्याङ्दी नदी पूर्ण रुपमा सूचारु नहुँदा तल्लो तटीय क्षेत्रहरुमा जोखिम कायमै रहेको छ ।

शनिबार हुम्डेमा पहिरो खसेपछि मर्स्याङ्दी नदी आंशिक रुपमा थुनिएको थियो । हुम्डेको पहिरो आइतबार ठूलो भेलले खुलाए पनि चामेको बेलिब्रिजमा बनेको ताल भने अझै फुटाउन सकिएको छैन ।

‘आइतबार दिनभर ताल फुटाउने प्रयास गरे पनि सफल हुन सकिएन’, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘पुलमा अड्किएका केही काठपात त झिकियो, ठूलाठूला चट्टानहरु हटाउन सकिएको छैन ।’ उनका अनुसार आइतबार साँझसम्म पनि मर्स्याङ्दी बेलिब्रिज माथिबाटै बगेको छ ।

प्रजिअ लामिछानेले ताल फुटाउन ब्लाष्टिङ गर्ने विषयमा अध्ययन भैरहेको बताए । ‘ब्लाष्टिङ गर्ने विषयमा नेपाली सेनाले अध्ययन गरिरहेको छ’, लामिछानेले भने, ‘ब्लष्टिङ गर्दा बेलिब्रिज र पाँच सय मिटर वरपरका घरहरुलाई असर गर्नसक्ने जोखिम पनि छ ।’

चामे बजारबाट बग्ने घट्टेखोलाले ल्याएका रूख र ठूलाठूला ढुंगा मर्स्याङ्दीमा अड्किएकाले उक्त क्षेत्रमा ताल बनेको हो । निरन्तर पानी परिरहेको मर्स्याङ्दीमा बाढीको बहावमा कुनै कमी नआएको जोखिम कायमै रहेको मनाङ प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले आइतबार दिनभर चामेमा बनेको ताल खुलाउन प्रयास गरिएको बताए । ‘हाम्रो सबै शक्ति लगाएका छौँ, तर बाढी नघट्दासम्म सम्भव देखिन्न’, उनले भने ।

चामेमा बनेको ताल फुटाएर मर्स्याङ्दीलाई आफ्नै लयमा बग्न नदिने हो भने तल्लो मनाङ र लमजुङका केही भूभागहरुमा ठूलो क्षति पुग्नसक्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् ।

भीषण वर्षासँगैको बाढी पहिरोले पूरै मनाङ क्षतविक्षत बनाएको छ । सबै सडकहरु अवरुद्ध छन् । ५६ घर पूर्ण रूपमा क्षति भएका छन् । २ सय घर जोखिममा छन् । मर्स्याङ्दी नदी र खहरे खोलामा बनेका बेलिब्रिज, झोलुंगे पुलको साथै लघु जलविद्युत् आयोजना बगाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome