शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र अष्ट्रिया अन्तिम १६ मा

८ असार, २०७८ ०८:०२ मा प्रकाशित

548 पटक पढिएको

belgium in euro 2021

काठमाडौं – जारी युरोकप २०२० को समुह चरणको आफ्नो अन्तिम खेल सकिँदा बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र अष्ट्रिया अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन् । बेल्जियम र नेदरल्याण्ड्स समुह चरणमा शत प्रतिशत जित हात पार्दै शिर्ष टोली बन्दै अन्तिम १६ मा प्रवेश गरे भने डेनमार्क र अष्ट्रियाले उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् ।

सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४-१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक-एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए ।

७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।

डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १-० ले र दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।

पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १(० ले हराएको थियो ।

उत्कृष्ट तेस्रो टिमको रुपमा स्विट्जरल्यान्ड युरोकपको अन्तिम १६ मा प्रवेश

स्विट्जरल्याण्ड युरोकप २०२० को नकआउट राउण्डमा प्रवेश गरेको छ । समूह ‘ए’ मा तेस्रो भएको स्विट्जरल्याण्डले उत्कृष्ट तेस्रो टिमकोरुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

सोमबार राति समूह बी र समूह सी का खेलहरु सकिएपछी स्वीस टोलीले पनि समूह चरण पार गरेको हो ।

समूह ‘ए’ मा स्विट्जरल्याण्डले ४ अंक जोडेको थियो ।

समूह ‘बी’ मा तेस्रो भएको युक्रेन र समूह ‘सी’ मा तेस्रो भएको फिनल्याण्डको ३ अंक मात्र भएकोले स्विट्जरल्याण्ड अगाडि रहँदै अन्तिम १६ मा पुगेको हो ।

२४ टिम सहभागी युरोमा समूह विजेता र उपविजेतासहित तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टिम पनि नकआउट राउण्डमा पुग्नेछन्।

समूह चरणमा बेल्जियमको पनि शतप्रतिशत जित

बेल्जियम समूहमा अपराजित रहँदै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गतत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले शतप्रतिशत जित हात पारेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।

फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे । ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।
त्यसअघि ६५औं मिनेटमा लुकाकुले गोल गरे पनि अफसाइड देखिएकोले मान्यता पाएन ।

जितपछि बेल्जियम ३ खेलबाट ९ अंक जोड्दै समूह बी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि पहिलो खेलमा रुसलाई ३-० ले हराएको बेल्जियमले दोस्रो डेनमार्कलाई २-१ ले हराएको थियो ।
उता पहिलो पटक युरोकप खेलेको फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।
फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।

पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो ।

नेदरल्याण्ड्सको शतप्रतिशत जित, अष्ट्रिया पनि नकआउट राउण्डमा

नेदरल्याण्ड्सले युरोकप २०२० को समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । सोमबार भएको समूह सी को अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदान योहान क्रुफ एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि जर्जिनिओ विज्नाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपाएले एक गोल गरे । खेलको २४औँ मिनेटमा डिपाएले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा विज्नाल्डमले दुई गोल गर्दा दुवै असिस्ट डिपाएले गरे। विज्नाल्डमले ५१औँ र ५८औँ मिनेटमा गोल गरे।

यसअघि नै लगातार दुई खेल जित्दै नेदरल्याण्ड्सले नकआउट राउण्डमा स्थान बनाईसकेको थियो । डेब्युटान्ट नर्थ मेसेडोनिया भने समूहको सबै तीन खेल हार्दै बाहिरिएको छ ।

यसै समूहको अर्को खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबारै भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनर २१औँ मिनेटमा डेभिड अलावाको पासमा गोल गरे ।

समूहमा दोस्रो जित हात पारेको अष्ट्रियाले ६ अंक जोड्दा युक्रेनले ३ अंक मात्र जोड्यो । युक्रेनले नकआउट राउण्डमा पुग्न भने अन्य समूहका खेलको नतिजा पर्खनुपर्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome