सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

भारतबाट खाने तेलको ग्यालनमा लागुऔषध ल्याउँदै गरेका युवक पक्राउ

९ असार, २०७८ १८:२० मा प्रकाशित

340 पटक पढिएको

arrested illustration

विराटनगर – भारतको जोगवनीदेखि खाने तेलको ग्यालनभित्र लागुऔषध राखी लिएर आउँदै गरेको अवस्थामा विराटनगरबाट एक युवक पक्राउ परेका छन् ।

जोगवनीबाट ग्यालनभित्र लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार मगरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

मगरले बोकेको ग्यालनभित्रबाट लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५, डाइजेल्याप ७५ र फेनारगन ७८ एम्पुल बरामद भएको श्रेष्ठले बताए । पक्राउ परेका मगरविरुद्ध इलाका प्रहरी कार्यालय रानीले लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने तयारी थालेको छ ।

यो घटनाबाट भारतदेखि लागुऔषध ओसारपसार गर्ने अवैध धन्दामा संलग्न गिरोहले सुरक्षाकर्मीलाई छल्नका लागि विभिन्न उपाय अपनाउन थालेको पुष्टि हुन्छ । नेपाल–भारत सीमा क्षेत्रमा गरिएको सुरक्षा कडाइपछि कानुनद्वारा बर्जित लागुुऔषध ओसार्ने गिरोहले विभिन्न उपायको अवलम्बन गर्न थालेको एसपी श्रेष्ठले बताए । विगतदेखि नै भारतीय बजार जोगवनीबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको छ ।

खाने तेलको ग्यालनभित्र राखेरसमेत लागुऔषधको ओसारपसार हुने गरेको तथ्य फेला परेपछि नेपाल–भारत सीमा नाकामा थप कडाइ गरिएको एसपी श्रेष्ठको भनाइ छ । ग्यालनमा तेल ल्याएजस्तो देखाएर लागुऔषध ल्याउने गरिएको पहिलो पटक फेला परेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome