बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

तिनाउ डाइभर्सन बहुद्देश्यीय आयोजनाको काम सुरु

१३ असार, २०७८ ०८:३४ मा प्रकाशित

381 पटक पढिएको

tinau diversion inaugurated

बुटवल – मुलुककै ठूलो सिंचाई आयोजनाका रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन बहुद्देश्यीय आयोजनाको काम अघि बढेको छ। जलस्रोत तथा सिंचाईं विभागले आयोजनाको कार्यालय बुटवलमा स्थापना गरेको छ।

कालीगण्डकीबाट पानी ल्याई रुपन्देही, कपिलवस्तु तथा नवलपरासीमा सिंचाईं गर्ने र विद्युत उत्पादन गर्ने योजना छ। कालीगण्डकीको राम्दी पुलबाट करिव दुई किलोमिटर तल रम्भा गाउँपालिकाको वडा नम्बर ३ मा ड्याम बन्नेछ।

जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव मणिलाल गेलालले एउटा नदीको जलाधार क्षेत्रमा उपयोग नभएको पानी अर्को नदीको जलाधार क्षेत्रमा पुराएर सदुपयोग गर्ने नीति अनुरुप यो आयोजना अघि बढेको बताए। यो मुलुककै ठूलो योजना हो, उनले भने, यसबाट विद्युत उत्पादन समेत हुनेछ।

कालीगण्डकीको पानी बुटवल ल्याउन २७ किलोमिटरको सुरुङ मार्ग बन्नेछ। रम्भाबाट शुरु हुने सुरुङ पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा आउनेछ। पहिलो सुरुङमार्ग झर्ने बिन्दुमा ड्याम बनाएर ५४ मेगावाट विद्युत उत्पादन हुने विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए।

दोभानबाट बुटवलको बेलबाससम्म अर्को सुरुगमार्ग बन्नेछ। सात किलोमिटरको यो सुरुङमार्गबाट पानी झर्ने स्थान बुटवल १३ बेलबासमा ७६ मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको छ।

तिनाउमा झर्ने पानीबाट रुपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाई हुनेछ। नवलपरासीमा पनि सिंचाईंका लागि पानी लाने योजना रहेको छ। कालीगण्डकीको पानीले १ लख ७ हजार क्षेत्रफल जमिन सिंचाई गर्ने भएकाले यो मुलुककै ठूलो आयोजना रहेको मन्त्रालयका सचिव गेलालले बताए।

जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा डाइभर्सन आयोजना कार्यालय उद्घाटन गरेका हुन्। पौडेलले नै २०६५ सालमा जलस्रोत तथा सिंचाईं मन्त्री हुदा डाइभर्सनको योजना अघि सारेका थिए। चुनावी एजेण्डा बनाएका पौडेलले यो योजना अव सपनामा मात्रै सिमित नभई यथार्थमै देखिने बताए।

यो योजनाले मुलुककै आर्थिक विकासमा ठुलो योगदान गर्छ, अर्थमन्त्री पौडेलले कार्यालय उद्घाटन गर्दै भने, ‘यस क्षेत्रका लागि यो योजना रोलमोडल हो।’ उनले यो आयोजना निर्माणका लागि बजेट अभाव नहुने भन्दै तिब्र गतिमा अघि बढाउन निर्देशन समेत दिए।

डाइभर्सन आयोजनाका लागि टनेल निर्माणमा ६६ अर्ब र सिंचाई आयोजनाको पूर्वाधार निर्माणमा ७४ अर्ब खर्च हुने अनुमान छ। विद्युत उत्पादनको योजना छुट्टै बन्नेछ। भेरी डाइभर्सन आयोजना जस्तै उच्च टनेल बोरिंग मेसिनबाट सुरुगमार्ग निर्माण गरिने सचिव गेलालले जानकारी दिए। मुलुककै ठूलो योजना भएकाले यसलाई सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाउन सक्ने बताए।

सिंचाई बिभागले यसको डीपीआर गरेको छ। टनेल निर्माण र सिंचाईं आयोजनाको नेटवर्क निर्माण संगसंगै हुने विभागले जनाएको छ। सिंचाई विभागका महानिर्देशक राजभण्डारीले लगत्तै वातवरणीय प्रभाव मुल्यांकन लगायतका प्रक्रिया पुरा गरेपछि टेण्डरमा जाने बताए।

तिनाउ नदीमा अहिले पानीको बहाव कम हुदै गएपछि यहाँ रहेका खेतबारीमा सिंचाई अभाव छ। रुपन्देहीको दक्षिणी भुभागमा पम्पको पानी तानेर सिंचाई गर्ने गरिएको छ। डाइभर्सन आयोजना सकिएपछि यी क्षेत्रमा १२ महिना नै सिंचाई पुग्नेछ। यसले खेतमा तीनबालीसम्म उत्पादन गर्न सकिने छ।

तिनाउको पानी कपिलवस्तु र नवलपरासी पुराउने योजना छ। कालीगण्डकी डाइभर्सनको पानी आएपछि विद्युत उत्पादन हुने भएकाले अझ महत्वपूर्ण रहेको विभागले जनाएको छ। तिनाउमा अहिले सानो विद्युत आयोजना रहेको छ। जसले ३ किलोवाट मात्रै विद्युत उत्पादन गर्दै आएको छ।

कालीगण्डकी डाइभर्सनको विषयमा उपल्लो तटीय क्षेत्रमा भने विरोध भइरहेको छ। अर्थमन्त्री पौडेलले आयोजनाको विषयमा विरोध नहुने विश्वास गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome