आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कालिकोटको सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध

१४ असार, २०७८ १७:५२ मा प्रकाशित

1006 पटक पढिएको

dry landslide

काठमाडौं – जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ लुशाको भीरमा सुख्खा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। पाँच दिनदेखि लगातार खसिरहेको सुख्खा पहिरोले लालु खुलालु हँदै कालिकोट, बाजुरा र हुम्ला जोड्ने कर्णाली करिडोर अवरुद्ध भएको हो।

स्थानीय गणेश धामीले गत बिहिबारदेखि खस्न थालेको सुख्खा पहिरो नरोकिदा कर्णाली करिडोरमा चल्ने यातायातका साधनका साथै स्थानीय तथा बाहिर जिल्लाका नागरिकहरुलाई आवतजावतमा समस्या भएको बताए। ‘माथिबाट पहिरो खस्दै गर्दा युवाहरु भने जोखिम मोलेर कुदेर पहिरो पार गर्ने गरेका छन्,’ उनले भने, ‘बालबालिका, महिला र जेष्ठ नागरिकहरु पहिरोको मुखबाट फर्किन्छन।’ उनीहरू रेगिलदेखि लालिघाटसम्म आधा घण्टाको बाटोमा पहिरोले अवरुद्ध बनाएपछि रेगिलदेखि उकालो, लुशा हुँदै कोटबाडा पुगेर ८ घण्टाको पैदल बाटो हिँडेर लालिघाट पुग्ने गरेको उनले बताए।

२४सै घण्टा लगातार पहिरो खस्ने भएकाले पहिरो पन्छाउन पनि सकिने अवस्था नभएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। उनले पहिरोको रोकथामका लागि तत्काल केही गर्न नसकिएको जानकारी दिए। ‘सडकबाट निकै लामो दुरीमा रहेको अग्लो पहाडबाट पहिरो सखिरहेकाले पहिरो पन्छाउन सकिने अवस्था छैन’, उनले भने, ‘पहिरो रोकथामका लागि जिल्लामा उपलब्ध प्राविधिक जनशक्ति र फुकोट हाईड्रोमा भएको जनशक्ति परिचालन गरी बिकल्पको खोजी गर्न थालिएको छ।’

रातदिन लगातार सुख्खा पहिरो खसिरहेकाले जोखिम मोलेर पहिरोबाट आवतजावत नगर्न स्थानियलाई आग्रह गरिएको उनले बताए।

पहिरोको रोकथामका लागि स्थानीय तहसँग समन्वय गरिएको प्रजिअ आचार्यले बताए।

सान्नीत्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीसहितको टोलीले पहिरोको निरीक्षण पनि गरेको छ। कडा चट्टानको टुप्पाबाट खसिरहेको पहिरोलाई रोक्ने उपाय खोजी गर्न गाँउपालिकाको टोलीले स्थलगत निरीक्षण गरेको अध्यक्ष शाहीले बताए। उनले भने, ‘पहिरोको मुखमा धेरै जमिन भाँसिएको छ। भासिएको भाग सबै नसकिएसम्म पहिरो रोकिने अवस्था छैन्।’

कर्णाली करिडोरका दर्जनौँ स्थानमा पहिरो खसेको छ। अन्य स्थानमा खसेको पहिरो नेपाली सेनाले पन्छाउन थालिसकेको छ। यद्यपि लुशा भीरमा खसेको पहिरोका कारण तत्काल राजमार्ग सञ्चालनमा आउने अवस्था भने छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome