बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

अब फेवातालबाट सराङ्कोट ८ मिनेटमै

१५ असार, २०७८ १८:५५ मा प्रकाशित

497 पटक पढिएको

annapurna cable car

काठमाडौं – आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ।

फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएले अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो। पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने काम सकेपछि केबलकार सञ्चालनको तयारीमा थियो। कोरोनाको दोस्रो लहरका कारण सञ्चालन पछि सरेको हो,’ प्रालिका निर्देशक त्रिपाठीले भने।

कोरोना संक्रमण नियन्त्रणमा आएलगतै जापानी प्राविधिक टोली पोखरा आउनेछन्। केबलकार व्यावसायीक रूपमा सञ्चालनअघि पूर्ण परीक्षण सुरु गरेर दसैं र तिहारको बीचमा सञ्चालन गरिने उनले बताए। केबवलकारमा सराङ्कोटसम्मको शुल्क पनि निर्धारण भइसकेको छ।

नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ। यसैगरी एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए। विद्यार्थी र वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने पनि निर्देशक त्रिपाठीले बताए। पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले शुल्क निर्धारण गरेको हो।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने भएको छ। मान्छे बोक्ने १७ र एक सामान बोक्ने गुण्डला (डब्बा) सहित १८ वटा डब्बा केबलकारमा सञ्चालन हुनेछ। लठ्ठो तानेर डब्बा फिक्स गरेर अहिले केबलकार तायारी अवस्थामा राखिएको छ। प्रालिले सराङ्कोटमा भ्यूटावर पनि तयार गरिसकेको छ। रेस्टुरेन्टको काम पनि फिनिसिङ मात्र बाँकी रहेको उनले बताए।

केबलकार निर्माणमा लागत भने बढेको छ। केबलकार सञ्चालनका लागि थप जग्गा खरिद, स्टिल र फलामको स्ट्रक्चर निर्माण गरिने भनिएकोमा कंक्रिट र ढलानको स्ट्रक्चर निर्माण गुर्नपर्ने, स्थायी सम्पत्तिमा लगानी बढी हुनुलगायतका कारण लागत बढेको त्रिपाठीले बताए। केबलकार सम्पन्न हुँदा १ अर्ब लगानी हुने भनिएकोमा लागत बढेर करिब २ अर्ब पुगेको त्रिपाठीको भनाइ छ। केबलकारले प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिने सक्ने क्षमताको भएको उनले बताए। पोखराको युवा व्यवसायी अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङसहितको टोलीले ४ वर्षअघि केबलकार निर्माण सुरु गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome