शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

यात्रुसँग बढी भाडा लिने ८ जना पक्राउ

१६ असार, २०७८ १७:०१ मा प्रकाशित

662 पटक पढिएको

public transport in kathmandu

काठमाडौं – ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिएको आरोपमा आठजनालाई पक्राउ गरेको छ। यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै आठजनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उनका अनुसार महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विभिन्न स्थानमा विशेष टोली खटाएको थियो। उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छजनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन्।

त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रु प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको हो। ट्राफिक प्रहरीका अनुसार उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई पक्राउ गरेको हो।

चाबहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा असुल गरेको आरोपमा २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि पक्राउ गरेको छ । उनले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको छ। तर लामो दूरीका सवारीलाई अनुमति दिएको छैन।

यस्तै ट्राफिक प्रहरीले भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरूलाई कारवाही गरेको छ। विशेषगरी काठमाडौ उपत्यकाबाट बाहिरिने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको हो ।

उपत्यकामा पनि सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा

उपत्यकामा पनि कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ ।

तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो ।

यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै १४ न्यूनतम् भाडाको स्थानमा २५ असुल गर्न थालेका छन् । आफूखुशी भाडा बढाएर लिएको यात्रुहरुको गुनासो छ । तीन वर्षअघि डिजेलको मूल्य १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गरे। महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकामा पेश भएको छ । सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome