शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उदयपुर मालपोतको कर्मचारीमा कोरोना पुष्टी, सर्वसाधरण त्रसित

१६ श्रावण, २०७७ १६:३० मा प्रकाशित

691 पटक पढिएको

land registration office udaypur

उदयपुर – उदयपुरमा पहिलोपटक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शुक्रबार मालपोत कार्यालयका ३४ वर्षीय कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

चारजना कर्मचारीमा गरिएको परीक्षणमध्ये उनको रिपोर्ट पोजिटिभ देखिएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले जानकारी दिए । उनले सेवाग्राहीको चाँप बढ्न थालेपछि सबैको परीक्षण गर्ने योजना भएपनि पीसीआर किट अभावका कारण चारजनामा मात्र गरिएको बताए ।

खड्काले भने, ‘स्वास्थ्य प्रमुखलाई सबैको परीक्षण गर्न भनेका थियौँ, किट अभावको जानकारी आएपछि तत्काल चाँप हुने फाँटका साथीलाई प्राथामिकता दिएका हौं।’

उनले संक्रमितले परीक्षण गर्नुअघि नै सामान्य ज्वरो आउने, जिउ कट-कटी खाने बताएका थिए।कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गर्न मालपोत कार्यालयलाई अनुरोध गरेको छ ।

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले अनिश्चितकालका सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । कार्यालयको सेवा ठप्प पारेसँगै संक्रमित कर्मचारीको ट्राभल हिस्ट्री सुरु गरिएको उनले बताए ।

संक्रमितले भने आफ्नो फाँटमा बेलका नगरपालिका पनि पर्ने भएकाले त्यहाँका सर्वसाधरण सेवा लिन आउँदा सरेको हुन सक्ने बताएका छन् । बिहीबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुईजना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण समुदायमा फैलिन सुरु गरेसँगै स्थानीय प्रशासनले कडाई गर्न थालेको छ ।

यसअघि भारतबाट आएका नागरिकमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए ।

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रास बढ्यो

सरकारी कार्यलयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधरण त्रसित बनेका छन् । नियमितजसो सेवा लिन आएका सर्वसाधरणसमेत आतंकित भएका छन् । धेरैजसोले टेलिफोन र म्यासेजमार्फत आफूपनि सेवा लिन गएकाले परीक्षणको दायर बढाइ दिन आग्रह गरको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताए ।

लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोनाप्रति लापरवाही बढ्दो रहेको अवस्थामा यो घटनाले उच्च सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयको भनाइ छ ।

बिहीबारबाट अनुगमन थालेको प्रशासन, नगरपालिका र सरोकारवाला निकायले मास्क नगरेको पाइएमा जरिवाना गर्ने जनाएको छ । कडाइका साथ सतर्कता अपनाउन सर्वसाधरणलाई अपिल गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमप्रसाद दाहालले बताए ।
संक्रमित मलामी गएका थिए

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका त्रियुगा नगरपालिका ९ का ३४ वर्षीय युवा बिहीबार आफन्त बिसाल दनुवार करेन्ट लागेर मृत्यु भएपछि मलामी गएका थिए । संक्रमण देखिएसँगै मलामी गएका करिब दुई सय सर्वसाधरण थप त्रासमा रहेको स्थानीयले बताए।

मलामी गएका सबैलाई घरभित्रै बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको तत्काल कोरोना नदेखिने भएकाले ४/५ दिन भित्रमा परीक्षण गरिने स्वास्थ्य प्रमुख सुबेदीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome