शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

सुनसरीमा बाढीले ५ सय घर डुवानमा

१९ असार, २०७८ १६:५९ मा प्रकाशित

504 पटक पढिएको

flood in sunsari

धरान – लगातारको वर्षातका कारण सुनसरीका अधिकांश स्थान डुवानमा परेका छन् । दर्जनौँ घरपरिवार विस्थापित भएका छन् भने सयौं घर डुवानमा परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा नर्सिङ, कोसी गाउँपालिकाका दर्जनौँ बस्ती डुवानमा परेका छन् ।

बस्तीको पानी खोलामा निकास नभएका कारण यहाँका सयौँ घर डुवानमा परेका हुन् । शनिवार परेको अविरल वर्षाका कारण सुनसरीका एक सय घर परिवार पूर्ण रुपमा विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।

उनले बाढीका कारण पाँच सय घर डुवानमा परेको बताए । सुनसरी खोला बस्तीमा पसेका कारण इनरुवाको सशस्त्र प्रहरी बलको ४ नम्बर गण जलमग्न छ । इनरुवा ४ कोगणेशपुरका एक सय ५० घर डुवानमा परेका छन् । बस्तीमा कुरुवा खोला पसेपछि सिंगो बस्ती नै डुवानमा परेको हो ।

इनरुवा ९ को बबियामा २५ घर डुवानमा परेका छन् । भोक्राहा नरर्सिङ गाउँपालिकाको वडा नम्बर ७ को सुनसरी खोला किनाराका १४ घर परवार विस्थापित भएका छन् । कोसी गाउँपालिकाको वडा नम्बर ८ का ४० घर डुवानमा परेका छन् । रामधुनी नगरपालिकाको वडा नम्बर १ का ११ घर डुवानमा परेका छन् । हरिनगर गाउँपालिकामा विभिन्न वडाहरुमा सय घर भन्दा बढी डुवानमा परेका छन् ।

धरान उपमहानगरपालिका १३ स्थित अमरहाटमा पहिरोले तीनघरमा क्षति पुर्‍याएको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४,५,६,१० र ११ वडाका २ सय घर डुवानमा परेका छन् । धरानदेखि विष्णुपादुका जाने बाटोमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । बाढीले विस्थापित भएका परिवारहरुलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानमा सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए ।

डुवानबाट प्रभावित क्षेत्रमा सर्वसाधारणको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार घर डुवानमा परी विस्तापित परिवारलाई सुरक्षित स्थानतर्फ राखिएको छ ।

यससँगै जथाभावी प्लटिङ गरी निर्माण गरिएको बस्ती र खोला आसापासका क्षेत्रमा बसोवास गर्दैआएका सुकुम्वासी बस्ती डुवानको उच्च जोखिममा छन् । पानीको निकास नभएका कारण अधिकांश सडक समेत डुवानमा परेका छन् । डुवानका कारण पक्की घरहरुमा क्षति नगरेको भए पनि कच्चा घर टिनका घर बनाएर बसेका सर्वसाधारण बाढीको उच्च जोखिममा परेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome