शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

ठुलो मात्रामा लागुऔषध र हतियार सहित भारतीय पक्राउ

३१ असार, २०७८ १५:३३ मा प्रकाशित

771 पटक पढिएको

drugs seized

विराटनगर – सशस्त्र प्रहरीले विराटनगरबाट हतियार र लागुऔषधसहित बुधबार राति एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए।

उनका अनुसार भारतको जोगवनीबाट हतियार र लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ स्थित भत्केको वालनजिकबाट पटेललाई राति साढे १० बजेतिर पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको डीएसपी ठाकुरको भनाइ छ। शंकास्पद रूपमा नेपाल प्रवेश गरेका पटेलले प्लाष्टिकको बोराभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा हतियार र लागुऔषध बरामद भएको जानकारी उनले दिए।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ। नेपाल प्रहरीले उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।

हतियार र लागुऔषधका कारोबारी रहेका पटेलले भारतको जोगवनीमा बसेर नेपालतिर त्यसको सप्लाई गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी नेपालमा आफ्नो सम्पर्कमा रहेका अपराधिक पृष्ठभूमिका व्यक्तिलाई हतियार र लागुऔषध पुर्‍याउन आउँदै गरेको अवस्थामा पक्राउ परेको बताइएको छ।

तर उनीसँगको सम्पर्कमा रहेर हतियार र लागुऔषध खरिद गर्न खोज्नेको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्राप्त सूचना र प्रारम्भिक अनुसन्धानबाट खुलेको विवरणका आधारमा पटेलसँगको सम्पर्कमा रहेका व्यक्तिको खोजी तीव्र पारिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome