शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

लाइसेन्स बनाउन काठमाडौंबाट वीरगन्ज पुगेका युवकको हत्या

१६ श्रावण, २०७८ १८:३३ मा प्रकाशित

409 पटक पढिएको

culprits in custody

वीरगन्ज – सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका काठमाडौंका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो।

हत्यामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फरार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगन्ज आएका थिए। बिहीबार बिहान वीरगन्ज ७ रामटोल स्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परेका थिए। उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीका अनुसार सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन्। वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बियर खाएका थिए।

बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए। हत्यामा संलग्न मध्येका ३ जनालाई शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको खनालले बताए। पक्राउ परेका तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome