आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

छिन्नमस्ताको मुकुटसहित एक युवक पक्राउ

१८ श्रावण, २०७८ १५:५८ मा प्रकाशित

703 पटक पढिएको

chinnamasta head gear

राजविराज – नेपालकै प्रसिद्ध शक्तिपिठमध्येको छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित सोमबार एक युवक पक्राउ परेका छन्। चोरी भएको ७ सय ५० ग्रामको चाँदीको मुकुट, सुनको टिका र नथियासहित सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पिठाधिश महन्थ ठाकुरका अनुसार आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पुजारीहरू पोखरीमा पानी लिन गएको बेला मुकुट चोरी भएको थियो। चोरी गरेर मुकुट घर लगेका मण्डलले बिहान आफैंले भगवतीको मुकुट ल्याएको र गाउँमा मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिंडेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जयप्रकाश यादवले बताए। चाँदीको मुकुट, सुनको टिका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। एसपी धमलाका अनुसार चोरीको मुकुटसहित पक्राउ परेका मण्डलको मानसिक स्वास्थ्य ठिक नरहेको जस्तो व्यवहार गरिरहेका छन्।

चोरीको घटना बाहिरिए पछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेका थिए। चोरीको अनुसन्धानका लागि राति नै सीमा नाकालाई सिल गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको थियो। मन्दिरमा जडान गरिएको सिसिटिभीको तार काटिएको र मन्दिरको संरक्षणमा लापरवाही भएको भन्दै मन्दिरमा राति नै भेला भएका गाउँलेहरूले चर्को विरोध गरेका छन्।

सप्तरीको राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका–३ स्थित ठूलो पोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता भगवतीको मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित छ। यहाँ विशेषगरी दशैंको घटस्थापनादेखि भक्तजनहरूको भीड लाग्ने गर्छ। छिन्नमस्ताको दर्शनका लागि भारतसहित देशैभरीका भक्तजनहरू पुग्ने गर्छन्।

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ। सखडेश्वरीको मस्तक अर्थात शिर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome