आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

पानी जमेको खेतमा महिलाको शव फेला

१८ श्रावण, २०७८ १६:०० मा प्रकाशित

236 पटक पढिएको

dead body

विराटनगर – मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको शव घरनजिक पानी जमेको खेतमा भेटिएको छ। मुखबाट फिँज र नाकाबाट रगत बगिरहेको तथा आँखाको डिलमा सामान्य चोट रहेको अवस्थामा आइतबार राति १० बजेतिर शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटनास्थल र मृतकको घर लगभग ५० मिटरको दूरीमा छ। देवर र आफ्नै छोरीले जानकीदेवीलाई मृत फेला पारेपछि राति ११:४५ बजेतिर प्रहरीलाई खबर गरेको श्रेष्ठले बताए।‘खेतमा मृत फेला पारेपछि उठाएर शव घरमा ल्याएछन्’, उनले भने, ‘घटना शंकास्पद मानेर परिवारका सदस्यले प्रहरीलाई खबर गरेका हुन्।’

उनका अनुसार धान रोपेको र घुँडासम्म डुब्ने पानी जमेको खेतमा घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको हो। प्रहरीले प्राप्त गरेको जानकारी अनुसार केही दिनअघि जानकीदेवीले पालेको हाँस हराएको थियो। हराएको हाँस खोज्ने क्रममा छिमेकीसँग उनको विवाद पनि भएको पाइएको प्रहरीको भनाइ छ। तर केही बेरमै हाँस भने भेटिएको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले जानकीदेवीसँग विवाद गर्ने छिमेकी ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

मृत्युको कारण यकिन हुन बाँकी रहेको डीएसपी श्रेष्ठको भनाइ छ। ‘घटनास्थलबाट शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएर घटनाका बारेमा अनुसन्धान थालिएको छ’, उनले भने, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने अपेक्षा छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome