बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

सिन्धुलीमा निशुल्क मास्क वितरण, नलगाउनेलाई कारबाही

१७ श्रावण, २०७७ १७:१५ मा प्रकाशित

388 Views पटक पढिएको

free mask distribution in sindhuli

सिन्धुली – कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि सिन्धुलीमा मास्कको प्रयोग गर्न छाडेपछि निशुल्क मास्क वितरण थालिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुली अस्पताल र सिन्धुली उद्योग वाणिज्य संघले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गरिएको हो।

जिल्ला सदरमुकाम माढी बजार तथा विपी राजमार्गका साथै खुर्कोट बजार क्षेत्रमा समेत मास्क नलगाइ पैदल यात्रा गर्नेलाई निशुल्क मास्क वितरण गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।‘एक सातादेखि कर्मचारी, प्रहरी, व्यापारीका साथै सर्वसाधरण मास्क वितरणमा जुटेका छन्। जिल्लामा झण्डै १५ हजार बढी निशुल्क मास्क वितरण गरिसकिएको छ। मास्क नलगाउनेलाई कारबाही समेत थालेका छौं’, उनले भने।

सिन्धुली अस्पतालले मात्रै शनिबार पाँच हजार मास्क पैदल यात्रीलाई वितरण गरेको छ। कोभिड–१९ विरुद्ध जनचेतना बढाउन र्‍यालीसहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क वितरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले जानकारी दिए।

‘स्वास्थ्यकर्मी सहितको टोलीले मास्क नलगाइ हिंडेकालाई निशुल्क मास्क वितरण गरेका हौं। बजरमा किनमेलका लागि आउनेलाई यस्तो मास्क दिएका हौं’, उनले भने।

उता जिल्लामा मास्क नलगाई लखरलखर डुल्नेलाई कारबाही थालिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मास्कबिना नै बजार र समुदायमा डुल्नेलाई एक पटकका लागि १ सय रुपैयाँ जरिवाना गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएस्पी) श्यामकुमार खत्रीले बताए।‘जिल्लामा निशुल्क मास्क वितरण गर्दासमेत मास्क नलगाइ हिंड्ने १ सय ४६ जनलाई प्रहरीले एक सय रुपैयाँ जरिवाना गराएको छ। जरिवानाबाट ९ हजार १ सय ५० रुपैयाँ राजश्व समेत संकलन गरिएको छ’, खत्रीले भने।

प्रहरीले सिन्धुलीमा ‘खै मास्क ?’ अभियान नै चलाएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारी पाण्डे, प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देल, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार लगायत स्थानीय सडकमै निशुल्क मास्क वितरणमा खटिने गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome