शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मुस्ताङमा विदेशी सैनिकसहित नेपाली सेनाको माउन्टेन वारफायर सम्बन्धी तालिम सुरु

२५ श्रावण, २०७८ १६:१७ मा प्रकाशित

267 पटक पढिएको

military training in mustang

जोमसोम – मुस्ताङमा विदेशी सेना सम्मिलित संयुक्त हाईअल्टिच्युड तथा माउन्टेन वारफायर सम्बन्धी तालिम सुरु भएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङका महासेनानी सुरेश हमालले आइतबार तालिमको उद्घाटन गरे ।

समुन्द्री सतहदेखि २५ सय मिटर देखि ५५ सय मिटरको अग्लो उचाइमा नेपाली सेनाले हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम दिएको हो । हिमाली तथा उच्चपहाडी युद्ध कला साथै चट्टान कला र हिमकला सम्बन्धी सीप सिकाइनेछ । तालिममा ४ देशका ५ विदेशी र ८१ जना नेपाली सैनिक सहभागी छन् ।

तालिममा अमेरिकाबाट २ जना, पाकिस्तान, बंगलादेश र दक्षिण कोरियाबाट १/१ जना गरी ५ जना विदेशी सेनाको सहभागी छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अगामी असोज १ गतेसम्म तालिम सञ्चालन हुनेछ ।

यस्तै, नेपाली सेनाका अधिकृत तहका १६ जना र अन्य दर्जाका ६५ जना गरी ८१ जना नेपाली सेनाले सहभागी छन् । हरेक वर्ष मुस्ताङको जोमसोम क्षेत्र र सैनिक उच्चशिखर शिक्षालय कैसाङको ड्रम क्याम्प र याकखर्क लगायत स्थानमा नेपाली सेनाले यस्तै नियमित हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम आयोजना गर्ने गरेको छ ।

जसअन्तर्गत मुस्ताङको जोमसोममा ३ हप्तासम्म चट्टान कला सम्बन्धी र्‍याप्लिङ र क्लाइमिङ सञ्चालन हुनेछ भने त्यसपछि मुस्ताङको कैसाङमा पुगेपछि ड्रम क्याम्प र याकखर्कमा हिम कला सम्बन्धी सैन्य अभ्यास गराइने बताइएको छ । हरेक वर्ष चैतदेखि असारसम्म दुई पटक सेनाले हाईअल्टिच्युड तथा माउन्टेन वारफायर बेसिक तालिम दिने गरेको छ ।

उक्त तालिमबाट छानिएका उत्कृष्ट प्रशिक्षार्थी सेनाका जवानलाई यसप्रकारको एडभान्स तालिम दिने गरिएको छ । सेनाले मुस्ताङको जोमसोम र कैसाङको ड्रम क्याम्पमा तालिम सकेपछि मुस्ताङ र मनाङबीचको कुनै एक हिमाल ओरोहण गर्नेछ ।

सम्भवतः नेपाली तथा विदेशी सेनाको टोलीले मनाङको चुलवईस्ट हिमाल आरोहण गर्न सक्नेछ। नेपाली सेनाले १० वर्षअघि नै मनाङको चुलवईस्ट हिमाल आरोहरण गर्ने अनुमति पाएको थियो ।

चुलवईस्ट आरोहण तथा आरोहरण सम्भावनाको अध्ययनका लागि जोमसोमबाट महासेनानीको टोली केही दिनमा त्यहाँ पुगेर फर्किनेछ । आरोहण सहज भएमा त्यहाँ नेपाली तथा विदेशी सेनालाई आरोहण अभ्यास गराइने तालिका छ।

२०३१ सालमा मुस्ताङको कैसाङमा तिब्बती खम्पा बिद्रोहीहरुको सैन्य हेडक्वाटर थियो । नेपाली सेनाले तिब्बती खम्पा सैनिकहरुलाई विस्थापित गराएपछि २०३२ सालमा त्यहाँ नेपाली सैनाको तालिम केन्द्र स्थापना भएको थियो।

मुस्ताङको कैसाङमा सन् १९९० देखि सेनाले हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम दिन सुरु गरेको हो । नेपाली सेनासँग मिलेर २०७५ सालसम्म ४६ जना अमेरिकी सैनिकले हिमाली युद्धकला सम्बन्धी तालिम लिइसकेका छन् । अमेरिकाको ईन्डोप्यासिफिक कमाण्डका ७ जना अमेरिकी सैनिकले २०७५ माघमा संयुक्त उच्चहिमाली युद्धकला अभ्यास गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome