शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

परमादेशबाट बनेको सरकारले शुरुदेखी नै राष्ट्रिय हितविरुद्धका निर्णय गरेको छ : ओली

९ भाद्र, २०७८ १६:२६ मा प्रकाशित

513 पटक पढिएको

oli in press briefing

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशको सरकारलाई विस्थापन गरेर परमादेशबाट बनेको सरकारले प्रारम्भदेखि नै जनहित र राष्ट्रिय हितका विरुद्धका निर्णयहरु गरेर आफ्नो परिचय दिन सुरु गरेको बताएका छन्। उनले दल विभाजन सम्बन्धी अध्यादेशमार्फत् पार्टीलाई विभाजित गर्ने र राजनीतिमा विकृति भित्र्याउने काम सुरु गरेर आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको दाबी गरेका हुन्।

सरकारले एमाले फुटाउनकै लागि अध्यादेश ल्याएको आरोप लगाए। बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रमुख प्रतिपक्ष दल फुटाउने काम गरेको दाबी गरे।

उनले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासमेत एमाले विभाजनमा सामेल भएको आरोप लगाए। एमालेले गरेको कारवाही सदर नगरेर सभामुखले एमाले विभाजनमा समावेश भएको बताउँदै ओलीले भने, ‘प्रचण्डले निस्काशन गर्दा, हतार हतार कारवाही गर्नुभयो । एमालेको कारवाही अगाडि किन बढेन ?,’

ओलीले सभामुखको पदबाट पक्षधरता छाड्न नसक्ने, मर्यादामा बस्न नसक्ने संसदीय प्रणालीका लागि दुखको कुरा भएको प्रतिक्रिया दिएका छन्। अध्यक्ष ओलीले नेकपा (एमाले) बाट विभाजित भएर अलगै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका नेतालाई हानिकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुन र आफ्नो मूलघरमा फर्किन अनुरोध गरेका छन्।

‘विभाजनकारी गतिविधि र अलग दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरूलाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र ; भेदभाव या कार्बाही नहुने पनि स्पष्ट पार्न चाहन्छौं ।’ उनले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई पार्टीको एकता र अग्रगतिका निम्ति आ-आफ्नो स्थानबाट अधिकतम योगदान गर्न तथा असहमति प्रकट गर्दा मर्यादित र संयमित रूपमा प्रस्तुत हुन आह्वान गर्दछौं ।’

ओलीले प्रमुख प्रतिपक्षका रुपमा एमालेले लोकतन्त्र र संविधानको रक्षा एवं मलुकको विकास र समृद्धिका लागि निरन्तर पहरेदारी गरिरहने बताएका छन्। ‘जनहितका विरुद्ध, राष्ट्रिय हितका विरुद्ध र लोकतन्त्रका विरुद्ध निर्णयहरु गरेर आफ्नो परिचय दिन सुरु गरेको छ । दल विभाजन सम्बन्धी अध्यादेशमार्फत् यसले मुलुकका पार्टीहरुलाई विभाजित गर्ने र राजनीतिमा विकृति भित्र्याउने काम सुरु गरेर आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ । भूमिसम्बन्धी आयोग विघटन गरेर यसले मुलुकका लाखौं भूमिहीन र सुकुम्बासीका छातीमा बुट प्रहार गर्ने र जनविरोधी वर्गचरित्र स्पष्ट पारेको छ।

जयसिंह धामीको सन्दर्भमा देखाएको लाचारीपन र युद्धग्रस्त अफगानिस्तानबाट त्यहाँ कार्यरत नेपालीहरु फर्काउने सवालमा अभिव्यक्त किंकर्तव्यविमुढताले यो सरकार राष्ट्रिय हितका प्रश्नमा कति गैरजिम्मेवार छ भन्ने स्पष्ट भएको छ।’ उनले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रमुख प्रतिपक्षका रुपमा नेकपा (एमाले) सरकारका यस्ता काम कार्वाही विरुद्ध हरबखत खबर्दारी र विरोध गरिरहने छ । लोकतन्त्र र संविधानको रक्षा एवं मलकको विकास र समृद्धिका लागि निरन्तर पहरेदारी गरिरहने छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome